हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डको बेड भरिएपछि भुइँमै उपचार गरिँदै ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा बिहीबार दिउँसो बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको (सनाखत) छ । आज शुक्रबार बिहानसम्म बस दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

सनाखत हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का ४३ वर्षीय मदन विश्वकर्मा, नुवाकोट जिल्लाका ३४ वर्षीय रघुराज न्यौपाने, बारा जिल्लाको ३३ वर्षीय अन्दुलाह मियाँ ठकुराई, बाराकै २५ वर्षीय शेख अल्मान, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३१ का ४२ वर्षीय हृदय नारायण पन्जियार र भारतको मोतिहारका २५ वर्षीय शरद नारायण शर्मा रहेका छन् ।

बस दुर्घटना हुँदा घाइते भएकामध्ये ४ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । शुक्रबार बिहानसम्म हेटौंडा अस्पतालमा १५ जना घाइते उपचाररत छन् भने ६ जना डिस्चार्ज भइसकेकोे जनाएको छ । काठमाडौंबाट वीरगन्ज जानका लागि बल्खुबाट फर्पिङ कुलेखानी हुँदै हेटौंडातर्फ आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको मिनीबस भीमफेदी–६, जुरिखेतमा बिहीबार दिउँसो साढे २ बजे दुर्घटना भएको थियो ।