
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई एक हजार थान डेङ्गु परीक्षण गर्ने किट हस्तान्तरण गरेको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले अस्पतालका मेसु डा. रामचन्द्र सापकोटालाई किट हस्तान्तरण गर्नु भएको हो । यसअघि पनि उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई एक हजार किट सहयोग गरेको थियो ।
किट हस्तान्तरण गर्नुहुँदै उपप्रमुख बानियाँले हेटौंडा अस्पतालबाट माग भई आए अनुसार आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री तथा डेङ्गु परीक्षण गर्ने किट उपलब्ध गराउन उपमहानगरपालिका तयार रहेको बताउनुभयो । उहाँले सबैको सहयोगमा अस्पताल सुधार हुने बताउँदै अस्पतालमा आम नागरिकले सेवाबाट बन्चित हुनु नपर्ने बताउनुभयो । अहिले डेङ्गु महामारीका रुपमा रहेकाले आम नागरिकलाई परीक्षण गराउन सजिलो होस् भन्दै उपप्रमुख बानियाँले डेङ्गु परीक्षण गर्ने किट अस्पताललाई सहयोग गरेको र थप किट उपलब्ध गराउन पनि उपमहानगर तयार रहेकोे बताउनुभयो ।
किट बुझ्दै अस्पतालका मेसु डा. सापकोटाले हेटौंडा अस्पतालमा दैनिक एक सयको हाराहारीमा डेङ्गुका बिरामी परीक्षणका लागि आउने गरेको बताउँदै थप किटका लागि अस्पतालले पनि खरिद गर्ने बताउनुभयो । उहाँले हेटौंडा अस्पताल पहिलेको भन्दा धेरै व्यवस्थित हुँदै आएको बताउँदै अझ राम्रो बनाउन आफुहरु लागीपरेको बताउनुभयो । किट हस्तान्तरणमा अस्पताल समिति सदस्य हिरा लामाको पनि उपस्थिति रहेको थियो ।










