हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ बाममारास्थित ल्वाजोर खोलामा नुहाउने क्रममा डुबेर घाइते भएका एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका बस्ने बिष्णु बहादुर खत्रीको भान्जा चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ फुर्तिचोकका कृष्ण बहादुर थापाको १६ वर्षीय छोरा सचिन थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
आज सोमबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा थापा ल्वाजोर खोलामा डुबी घाइते भएका थिए । सचिन खोलामा डुबेर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी हात्तिसुँडेबाट प्रहरी टोली खटेर घाइते सचिनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी छतिवन ल्याइएको थियो । छतिवनमा उपचार पश्चात् थप उपचारको लागि चुरेहिल अस्पताल ल्याएकोमा डाक्टरले ३ बजेर १० मिनेटमा मृत घोषणा गरेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो । थापाको शव अहिले चुरेहिल अस्पतालमै रहेको जनाइएको छ ।











