हेटौंडाः विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको आयोजनामा शनिबार भएको मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सिद्धार्थ माध्यमिक विद्यालय प्रथम भएको छ । आधुनिक राष्ट्रिय मावि द्घितीय र ब्रह्मदिक एकेडेमी तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्घितीय र तृतीय भएका विद्यालयहरुलाई क्रमशः ४ हजार ५ सय रुपैयाँ, ३ हजार रुपैयाँ र एक हजार ५ सय रुपैयाँ नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको संस्थाका सचिव सुवास खनालले जानकारी दिनुभयो । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरले विज्ञान दिवसको अवसरमा माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । चन्द्रोदय मावि हेटौंडा– ८ को प्रायोजनमा भएको उक्त कार्यक्रममा २३ वटा विद्यालयले सहभागिता जनाएका थिए । जसमा प्रारम्भिक चरणमा ७ वटा समूह छनोट गरी प्रतियोगिता गराइएको थियो ।
विज्ञान शिक्षक समाज नेपाल मकवानपुर नगर कार्यसमितिका अध्यक्ष भुपेन्द्र यादवको सभाध्यक्षता तथा चन्द्रोदय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा चन्द्रोदय माविका प्रधानाध्यापक एवम् शिक्षक महासंघ मकवानपुरका जिल्ला अध्यक्ष जिधराज ढकाल, विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका जिल्ला अध्यक्ष खेमराज लामिछाने, जिल्ला समिति सचिव सुवास खनाल, सहसचिव नितेश ठाकुर लगायतको उपस्थिति थियो ।