हेटौंडाः हेटौंडा–२ स्थित ॐ बृद्धाश्रममा आश्रित १८ जना वृद्घवृद्घाको स्वास्थ्य जाँच गरिएको छ । बिहीबार बनस्खण्डी शहरी स्वास्थ्य केन्द्रले आश्रित वृद्घवृद्घाको रगत र प्रेसर जाँच गरेको हो । जाँच गरिएकामध्ये २ जनामा उच्च रक्तचाप देखिएको ॐ बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठले जानकारी दिनुभयो ।
रगत परीक्षणका लागि स्वास्थ्य केन्द्रमा लगिएको उहाँले बताउनुभयो । औषधी सेवन गर्ने तरिका र डेङ्गुबाट बच्न अपनाउनुपर्ने सावधानीबारे आश्रममा आश्रित वृद्धवृद्धालाई जानकारी गराइएको थियो । अध्यक्ष श्रेष्ठका अनुसार एक जनालाई दम रोग रहेको र अन्य वृद्घवृद्घालाई हाडजोर्नी दुखाइको समस्या रहेको जानकारी दिनुभयो । आश्रित ३० जना वृद्घवृद्घा भइसकेकाले सबैमा हाडजोर्नी दुखाइको समस्या रहेको उहाँले बताउनुभयो । स्वास्थ्यकर्मी मञ्जु गौतम र सुनिता थापाले आश्रित वृद्घवृद्घाकोे स्वास्थ्य जाँच गर्नुभएको थियो । आश्रितहरुलाई झुल प्रयोग गरी नियमित सरसफाई गर्न आग्रह गरिएको छ ।