श्यामप्रसाद श्रेष्ठ

विश्व कुपोषण उन्मुलन सम्मेलन कार्यक्रममा सहभागी हुन विश्वका विभिन्न देशहरुको उपस्थिति थियो । नेपालबाट नेपाल बहादुर आफैं सहभागी भएका थिए । त्यो सम्मेलनमा नेपालले मोटाघाटा, खाइलाग्दो ज्यान, हेर्दै डरलाग्दो भारत, अम्रिका, अष्ट्री, जापुन चिनेको नचिनेको थुप्रै उपस्थित भएको देख्यो । केही बर्ष अगाडिसम्म केही खान नै नपाएर ख्याउटे अस्थिपञ्जर जस्तो देखिएका आज हेर्दै पहलमान जस्तो भएको देखेर उसलाई ताजुब लागिरहेको थियो ।

नेपाललाई देखेर सबैले भन्यो, ‘आज हामी विश्वमा कुपोषण उन्मुलन गर्दैछौं, तर तिमी किन केही खान नपाएर हो या कुनै रोग लागेर हो ? हेर आज यस्तो लुरे देखेका छौ, तिमी त बहादुरको ईतिहास हो, के सहयोग गर्नु पर्‍यो भन ?’

नेपालले रुँदै जवाफ दियो, ‘मसँग केहि कुराको कमि छैन, धेरै खाने कुराहरु छन्, त्यो जम्मै खानेकुरा मैले खान पाउने हो भने तिमीहरु भन्दा म धेरै मोटोघाटो हुन्थे हुँला, तर के गर्नु आफ्नो त कर्मै खोटो ? त्यहाँ धेरै खाने कुराहरु भएर के गर्नु ? त्यो सबै राष्ट्रीय किरा फट्याङग्राहरुले नै खान्छन् ।’
एउटा देशले जिज्ञासा राख्दै सोध्यो, ‘त्यस्तोलाई त हामी खोरमा राख्दछौं, त्यहाँ खोर पाइँदैन ?’

‘खोर त पाइन्छ त्यहाँ पनि, तर त्यहाँ खोरमा तिनीहरुले नै मलाई राखेका छन् । अनि त्यति मात्र कहाँ हो र ? त्यो खोरभित्र मेरो रगत खाने ३ वटा प्रमुख छन् । तिनीहरु उडुस, लामखुट्टे, किर्ना हुन् । उनीहरु मलाई बिगत १५, १६ बर्षदेखि पालैपालो रगत चुसी रहेको छ । म ती रक्त पिपासुहरुबाट उन्मुक्ती खोजिरहेको छु ।’