हेटौंडाः मकवानपुरमा बुधबार १९ औं निजामती सेवा दिवस मनाइएको छ । बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा दिवस मनाइएको हो ।
‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । मकवानपुरमा बुधबार हेटौंडा–४ स्थित भूटनदेवी माविको चौरबाट हेटौंडा–२ स्थित मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । उहा“ले कर्मचारीले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
बागमती प्रदेश सरकारले निजामती सेवा दिवसको अवसरमा आइतबार कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल खेल, मंगलबार हेटौंडा–१५, रातोमाटेस्थित वृद्धाश्रममा फलफूल वितरण र वृक्षरोपण गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा २ सय जनाभन्दा बढी निजामती कर्मचारीको उपस्थिति रहेको थियो ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्द निरौलाको अध्यक्षता तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा दिवस मनाइएको हो ।