हेटौंडाः आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा मकवानपुरका ३५ जना खेलाडी छनौट भएका छन् । बागमती प्रदेश सरकारले छनौट गरेको विभिन्न विधाका खेलमा मकवानपुरका ३५ खेलाडी छनौट भएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका निमित्त कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिनुभयो ।
प्रदेशले छनौट गरेको प्रदेश महिला फुटबल टिममा मकवानुरका ५ जना खेलाडी छनौट भएका छन् । छनौट हुनेमा सञ्जिता बोम्जन, पूजा लामा, पेमा जिम्बा, मनिषा जिम्बा र अञ्जुमाया गोले रहेका छन् । पुरुष रग्बीमा पनि ५ जना खेलाडी प्रदेशमा छनौट भएका छन् । छनौट हुनेमा अर्जुन पराजुली, सुजन लोप्चन, अवि राई, प्रकाश बर्तौला र विकल रहेका छन् । महिला रग्बी टिमतर्फ ९ जना खेलाडी प्रदेशमा छनौट भएका छन् । छनौट हुनेमा ज्योति बोम्जन, सुस्मा पाख्रिन, श्रेया लोप्चन, कमलीमाया भोलन, छुइसाङ जिम्बा, अस्मिता बोम्जन, मनिषा घिसिङ, विपसा योञ्जन र पूजा योञ्जन रहेका छन् । यस्तै, फुल कन्ट्याक कराँतेमा महिलातर्फ ५० केजीमा नवीना घलान प्रदेशमा छनौट भइन् ।
कराँतेतर्फ ८४ केजीमा रोशन बलामी, ७५ केजीमा आशीष थापा र र महिलातर्फ ६१ केजीमा रमिता माझी छनौट भएका छन् । यसअघि भएको प्रदेश छनौटमा प्रदेश क्रिकेट टिमको अन्तिम १४ मा मकवानपुरका ३ जना खेलाडी छनौट भइसकेका छन् भने क्रिकेट टिमको अन्तिम १८ को वैकल्पिकमा मकवानपुरकै थप ३ जना खेलाडी छनौट भएका छन् । यस्तै, जुडोमा महिलातर्फ २ जना खेलाडी र उसुतर्फ ४ जना खेलाडी प्रदेशमा छनौट भइसकेका छन् । प्रदेशमा छनौट सबैले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउनेछन् । बागमती प्रदेशले अहिले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने खेलाडी छनौट गरिरहेको छ । अन्य बाँकी विधाका खेलाडी छनौट शुक्रबारसम्म हुने जनाइएको छ ।











