हेटौंडाः आगामी असोज २८ गतेबाट गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा सहभागी हुन बागमती प्रदेशले अहिले ३६ विधाका खेलका खेलाडीहरु छनौट गर्ने कार्य गरिरहेको छ । केही विधाका खेलाडीहरु छनौट भइसकेका छन् भने केही विधाका खेलका खेलाडी छनौट भइरहेको छ ।

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७९ मा समावेश खेलका खेलाडी छनौट गरिसकेको छ । जसमा फुटबल, क्रिकेटका खेलाडी छनौट भइसकेका छन् । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् फुटबलमा मकवानपुर पुरुष फुटबल टिम र महिला फुटबल टिम विजेता बनेको थियो । प्रदेश पुरुष फुटबलमा मकवानपुरका ८ जना खेलाडी प्रदेश छनौटका लागि छनौट भएका थिए । यस्तै, महिला फुटबल टिमबाट ४ खेलाडी प्रदेश छनौटका लागि छनौट भएका थिए ।

बागमती प्रदेशले खेलाडी छनौट गर्ने कार्यक्रमअन्तर्गत् सोमबार फुटबल खेलका खेलाडी छनौट गरिएको छ । जसमा मकवानपुरका पुरुष खेलाडीहरु प्रदेश छनौट नै खेल्न सहभागी भएनन् । प्रदेश छनौटमा परेका ८ जना पुरुष खेलाडी छनौट खेल खेल्नै गएनन् । खेलाडीहरुले आर्थिक समस्या र जिल्ला फुटबल संघले चासो नदिँदा छनौटमा सहभागी नभएको बताएका छन् । ‘प्रदेश छनौट काठमाडौंमा हुन्छ, काठमाडौंमा ३–४ दिन आफ्नै खर्चमा प्रदेश छनौट खेल्नुपर्छ । भन्नेवित्तिकै हामीले पनि खर्च व्यवस्थापन गर्न सकेनौं, अनि हामी गएनौँ । जिल्ला फुटबल संघले पनि खासै चासो देखाएन’, प्रदेशमा छनौटमा सहभागी हुनुपर्ने एक खेलाडीले नाम नखुलाउने शर्तमा बताए । यस्तै प्रदेशमा छनौटका अर्का खेलाडीले अहिले बाहिरी जिल्लामा प्रतियोगिता खेलिरहेकाले प्रदेश छनौटमा सहभागी नभएको बताए ।

यता, जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले भने खेलाडीहरुकै लापरबाहीका कारण प्रदेश छनौटमा सहभागी नभएको बताउनुभयो । ‘प्रदेशमा छनौट महिला फुटबल टिमका खेलाडीले मसँग समस्या राखे । मैले १५ हजार रुपैयाँ खर्च पठाएर छनौटमा सहभागी गराएँ, पुरुष खेलाडीहरुले मसँग कुनै समस्या पनि राखेनन्’, लामा भन्नुभयो । ‘पुरुष खेलाडीसँग पैसाको खासै समस्या हुँदैन, उनीहरु एकै गेम खेलको ५–१० हजार लिएर खेलिरहेका हुन्छन् । काठमाडौं गएर छनौट खेल्न नसक्ने कुरा हुँदैन’, उहाँले भन्नुभयो । प्रदेशबाट १२–१५ दिनको दैनिक २ हजार रुपैयाँका दरले भत्ता लिने अनि प्रदेश छनौटमा आफै सहभागी नहुनु उचित नहुने उहाँले बताउनुभयो । त्यो भत्ता प्रदेश छनौट खेल्न दिए पनि छनौटमा सहभागी हुँदैनन् भने उनीहरुकै गल्ती भएको उहाँले बताउनुभयो । उहाँले प्रदेश छनौटमा सहभागी गराउन जिल्ला खेलकुद विकास समितिले अभिभावकत्व लिनुपर्ने भए पनि त्यो नभएको बताउनुभयो । उहाँले जिल्ला खेलकुद विकास समितिले अन्य खेलहरुमा भने छनौट गर्ने, सहभागी गराउने, तर फुटबलमा मात्र नगरेको बताउनुभयो । उहाँले जिल्ला खेलकुद विकास समितिले अन्य खेललाई इभेन्ट दिने, तर फुटबललाई नदिएको गुनासो गर्नुभयो ।