हेटौंडाः सरकारको पहिलो एक सय दिनलाई महत्वका साथ हेरिन्छ । एक सय दिनको अवधिमा उपलब्धीभन्दा कार्यकाल भरको आशाका आधारहरु हेरिन्छ । तर, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले पदबहाली गरेको एक सय दिन पुगेको दिन आइतबार पत्रकार सम्मेलन गरेर अधुरा काम र विस्तृत परियोजना प्रस्ताव तयार पार्ने योजनालाई पनि उपलब्धीको रुपमा व्याख्या गर्नुभएको छ ।
कार्यकालको सुरुवातदेखि नै कार्यपालिका र नगर परिषद्मा अल्पमत र बहुमतको कसरतलाई रोक्न असमर्थ नगर प्रमुख लामाले एक सय दिन पूरा भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि कार्यपालिका सदस्यहरुको उपस्थिति न्यून थियो । अझ भन्ने हो भने गठबन्धन दलबाट निर्वाचित वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो भने नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरु प्रायः अनुपस्थित थिए । नगर प्रमुख लामाले गत आर्थिक वर्षको कार्यक्रमलाई निरन्तरता दिनुलाई पनि उपलब्धीको सूचीमा राख्नुभएको छ । स्वास्थ्य उपचारका लागि आवश्यक रगत निशूल्क गर्ने गत वर्षकै कार्यक्रमलाई नगर प्रमुख लामाले एक सय दिनको प्रगति विवरणमा समेट्नु भएको छ ।
एक सय दिनको प्रगति विवरणमा अधिकांश अधुरा योजना उल्लेख गरिएको छ । उपमहानगर क्षेत्रका दुईवटा स्वास्थ्य चौकीमा चिकित्सक भर्ना प्रक्रिया र बीमा सेवा अनुमति प्रक्रिया अगाडि बढाउनुलाई पनि एक सय दिनको प्रगतिको सूचीमा समावेश गरिएको छ । दुईवटा व्यावसायिक भवन निर्माणको प्रक्रिया सुरुवात गरेर आलोचना व्यहोरिरहेको उपमहानगरपालिकाले हेटौंडा–१० स्थित सस्तो बजारमा व्यावसायिक भवन निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने कार्य अगाडि बढ्नुलाई पनि प्रगतिको सूचीमा राखिएको छ ।
१९ वटा बुँदामा प्रस्तुत गरिएको प्रगति विवरणमा कार्यदल गठन गरिएको, तरकारी बजार सार्ने निर्णय, सरोकारवाला निकायमा प्रतिनिधित्व सुनिश्चित भएको, सरोकारवालासँग बैठक गरिएको विषयलाई पनि प्रगति विवरणमा समेटिएको छ । नगर प्रमुख लामाले १० हजार लिटर खानेपानी निशूल्क वितरण गर्ने, अति विपन्न परिवारलाई स्वास्थ्य बीमा गर्ने प्रक्रिया अगाडि बढ्नु पनि एक सय दिनको प्रगति भएको उल्लेख गर्नुभएको छ ।
एक सय दिनको प्रगति विवरण प्रस्तुत गर्न आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख लामाले प्रगति विवरणमा भन्दा बढी प्रेस युनियनलाई १० लाख रुपैयाँ दिने निर्णय, हेटौंडा–४, हुप्रचौरमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय भवन र हेटौंडा–१०, बसपार्कमा निर्माणाधिन बस टर्मिनल भवनको निर्माण कार्य सुस्त भएको विषयमा बढी आलोचना सुन्नु प¥यो । पत्रकारसँग कुरा गर्नुहुँदै नगर प्रमुख लामाले सञ्चारकर्मीको प्रश्न र सूचना माग गरेको देखेर आफ्नो मनोवल कमजोर भएको बताउनुभयो ।











