नमूना संयुक्त राष्ट्रसंघीय महासभाको आयोजना सम्बन्धमा जानकारी दिनुहुँदै महासचिव रेजा विष्ट ।

हेटौंडाः हेटौंडा–४ स्थित नवोदय शिशु सदन माविले विद्यार्थीको नेतृत्व र सहभागितामा नमूना संयुक्त राष्ट्रसंघीय महासभाको आयोजना गर्ने भएको छ । नगरका अन्य ५ निजी विद्यालयका विद्यार्थीको सहभागिता रहने गरी आगामी आइतबार सुरु हुने नमूना महासभा मंगलबारसम्म सञ्चालन हुनेछ ।

विद्यार्थीलाई अन्तर्राष्ट्रिय संस्थाको अवधारणा बुझ्न अभ्यासमा आधारित भई कार्य गर्न खोजिएको विद्यालयले जनाएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर नमूना राष्ट्रसंघीय महासभाको विषयमा जानकारी दिएको छ । नमूना संयुक्त राष्ट्रसंघीय महासभामा महासचिवको भूमिका निर्वाह गर्नुहुने १० कक्षाकी छात्रा रेजा विष्टले नमूना महासभाको तयारीका बारेमा जानकारी दिनुभयो ।

यसअघि दुईपटक भर्चुअलरुपमा आयोजना गर्दै आएको नमूना महासभाको बैठक यसपटक भौतिक उपस्थितिमै आयोजना गर्न लागिएको हो । छिमेकी जिल्ला चितवनको विद्यालयमा आयोजना भएको नमूना महासभामा सहभागी भएपछि नवोदय आफैंले नमूना महासभाको आयोजना गर्न सुरु गरेको हो । विद्यार्थीको नेतृत्व विकास हुने, सामूहिक छलफलमा सहभागी हुनुका साथै आफ्नो विचार प्रस्तुत गर्ने क्षमताको विकास हुने अपेक्षासहित नमूना महासभाको आयोजना गरिएको महासचिव विष्टको भनाइ छ ।

नमूना महासभामा पूर्वनिर्धारित मुद्दामा रहेर विद्यार्थीले छलफल गर्नेछन् । नमूना महासभामा विश्व स्वास्थ्य संगठनको तर्फबाट विश्वभर आनुवंशिक विकारलाई सबोधन गर्ने विषयलाई प्रमुख मुद्दा बनाउनेछ भने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को तर्फबाट विश्वव्यापी सुरक्षाका लागि उपनिवेशको कमी भन्ने विषयलाई प्रमुख मुद्दाको रुपमा प्रस्तुत गर्नेछ । यस्तै राष्ट्रसंघीय आर्थिक र वित्तीय मामिला परिषद्ले बढ्दो मुद्रा स्फिति विश्वव्यापी मन्दी विरुद्धको लडाइँलाई प्रमुख मुद्दा बनाउँदा खाद्य तथा कृषि संगठनले राम्रो उपजका लागि भविष्यको कृषि प्रविधिको विकासलाई प्रमुख मुद्दा बनाउनेछ । अन्तर्राष्ट्रिय श्रम संगठनको तर्फबाट कार्यरत कार्यबलको तीव्र आकारलाई प्रमुख मुद्दा बनाउने जानकारी दिनुहुँदै महासचिव विष्टले संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रमको तर्फबाट जलवायु परिवर्तन र भिन्नताहरु विरुद्ध लड्न हरित उर्जाको उचाईलाई प्रमुख मुद्दा बनाउने जानकारी दिनुभयो ।

नमूना महासभाको आयोजनाले विद्यार्थीमा अन्तर्राष्ट्रिय सम्बन्ध, नीति, योजनाका विषयमा पनि जानकारी हुने विश्वास लिइएको महासचिव विष्टले बताउनुभयो । संयुक्त राष्ट्रसंघको वास्तविक संरचना र अभ्यासमा आधारित भएर नमूना अभ्यास गर्न लागिएको हो । नवोदयको आयोजनामा हुन लागेको नमूना महासभामा हेटौंडा–४ स्थित व्रह्मदिक एकेडेमी, हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौंडा–१० स्थित तुलसी मेहर मेमोरियर स्कूल, हेटौंडा–११ स्थित हेटौंडा एकेडेमी र हेटौंडा–१८ स्थित मकवानपुर बालविद्या सदन माविका विद्यार्थी पनि सहभागी हुँदैछन् । नवोदय शिशु सदनका ९ र १० का सबै विद्यार्थी र ८ कक्षाका केही विद्यार्थी सहभागी हुँदैछन् भने अन्य विद्यालयबाट बढीमा ६ जना विद्यार्थीको सहभागिता रहने बताइएको छ ।

संयुक्त राष्ट्रसंघको दुई सयभन्दा बढी सदस्य राष्ट्र सदस्य भए पनि नमूना महासभामा ३० देखि ४० देशका प्रतिनिधिको भूमिकामा विद्यार्थीहरु सहभागी हुने छन् । नमूना महासभामा सहभागी हुँदा विद्यार्थीले कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रसंघमा मुलुकको प्रतिनिधित्वका विषयमा बुझ्न पाउने बताइएको छ । नमूना संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने विद्यार्थीहरु एक साताभन्दा बढी समय प्रशिक्षणमा सहभागी छन् । नमूना महासभा बैठकका साथसाथै सामाजिक सन्ध्या तथा विविध मनोरञ्जनात्मक क्रियाकलाप हुने बताइएको छ ।