हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आज शुक्रबार नगरका चारवटा वडामा राहत सामग्री पठाएको छ । लक डाउनका बेला नगरका विपन्न परिवारलाई लक्षित गरी हेटौंडा उपमहानगरपालिकाले आज वडा नम्बर १ का चार सय, वडा नम्बर ६ का तीन सय ५० परिवार, वडा नम्बर ११ का चार सय परिवार, वडा नम्बर १६ का एक सय ८० परिवार र वडा नम्बर १८ का एक सय परिवारलाई राहत सामग्री वितरणका लागि पठाएको छ । बुधबारदेखि उपमहानगरपालिका आफैंले खाद्यान्न खरिद गरेर राहत सामग्री वितरण गर्न सुरु गरेको छ ।
उपमहानगरपालिकाले पहिलो दिन बुधबार ४ नम्बर वडामा एक सय ५० परिवार र १८ नम्बर वडामा ३ सय ५० परिवारका लागि राहत पठाएको थियो । दोस्रो दिन बिहिबार नगरका चारवटा वडाका १ हजार १ सय १५ परिवारका लागि राहत सामग्री पठाएको थियो । बिहिबार वडा नम्बर २, ९, १० र १७ मा राहत सामग्री पठाएको उपमहानगरपालिकाका विनोद सुवेदीले जानकारी दिनुभयो । २ नम्बर वडामा २ सय ५०, ९ र १० नम्बर वडामा ३/३ सय परिवार र १७ नम्बर वडामा २ सय ६५ परिवारलाई राहत सामग्री पठाइएको छ । हेटौंडा उपमहानगरका १९ वटै वडाका दैनिक ज्यालादारी गर्ने मजदुर परिवारलाई प्रतिपरिवार १५ केजि चामल, २ केजि दाल, २ लिटर तेल, १ पाकेट नुन र १ नुहाउने साबुन ४ वटा वितरण गर्नेछ ।