हेटौंडाः रेडियो थाहा संचार ९९ दशमलव ६ मेगाहर्जले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आज शुक्रबार तीज विशेष कार्यक्रम गरेको छ । तीज विशेष कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ४ की सन्तोषी वनकरियालाई थाहा नारी रत्न सम्मानद्वारा सम्मान गरिएको छ ।
लोपउन्मुख वनकरिया समुदायबाट संघर्ष गर्दै जेटिए अध्ययन गरी वनकरिया समुदायको उत्थानमा सक्रिय रहनु भएको भन्दै सन्तोषीलाई सम्मान गरिएको हो । सन्तोषीले हाल वनकरिया समुदायका बालबालिकालाई निःशुल्क अध्यापन गराउँदै आउनु भएको छ । सम्मान कार्यक्रममा बोल्दै सन्तोषी वनकरियाले आफ्नो समुदायबाट निकै संघर्ष गरेर अहिलेको अवस्थासम्म आईपुगेको स्मरण गर्नुभयो । वनकरिया समुदायमा तीज मनाउने परम्परा नभएको भन्दै उहाँले अझै पनि वनकरिया समुदाय निकै पछाडी रहेको बताउनुभयो ।
यस्तै, कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका प्रहरी प्रमुख किरण बज्रचार्यले तीजमा महिलाहरुले आफुलाई परेको समस्या दिदी बहिनीसँग पोख्ने र त्यसको समाधान खोज्ने अवसर पनि भएको बताउनुभयो । उहाँले सम्पूर्ण महिलाहरुलाई तीजको शुभकामना दिनुभयो । कार्यक्रम रेडियोका प्रबन्ध निर्देशक अरुणराज सुमार्गीको सभाध्यक्षमा भएको हो ।