हेटौंडाः विद्यालय भन्ने बित्तिकै विद्यार्थी पढ्ने, पढाउने स्थान भन्ने बुझिन्छ । तर, हेटौंडा–१६, हटियास्थित रेडरोज इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलले शुक्रबार अभिभावकलाई असल अभिभावकत्वका बारेमा सिकाएको छ । औपचारिक शिक्षामा प्रभावकारी सिकाईका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने ठहर गर्दै विद्यालयले अभिभावकको भूमिकाका बारेमा जानकारी दिन, उनीहरुलाई केही रचनात्मक कार्य गर्न सिकाउने उद्देश्यले कक्षा लिइएको विद्यालयका प्रिन्सीपल कैलाश धिताल बताउनुहुन्छ ।
शुक्रबार कक्षा १० का विद्यार्थीका अभिभावकलाई अभिमुखीकरण गराएको विद्यालयले कक्षागत अभिभावकलाई अभिमुखीकरण गराउँदै जाने प्रिन्सीपल धितालको भनाइ छ । ‘सिकाई अनि असल अभिभावकत्व’ शीर्षकमा अभिभावकलाई अभिमुखीकरण गराइएको प्रिन्सीपल धितालले बताउनुभयो । प्रिन्सीपल कैलाश धितालले अभिभावक अभिमुखीकरण कार्यक्रममा सहजीकरण गर्नु भएको थियो । यस्तै विद्यालयकी निर्देशक सरिता भण्डारी दहालले विद्यार्थीको नतिजाको विषयमा अभिभावकलाई जानकारी गराउनुभएको थियो ।
विद्यार्थीको सर्वपक्षीय विकासमा टेवा पुर्याउन अभिभावक अनुशिक्षणको आवश्यक्ता महसुस भएर अभिमुखीकरणको कार्यक्रम आयोजना गरिएको निर्देशक भण्डारीले स्पष्ट पार्नुभयो । अभिमुखीकरणमा बाल विकास, यसका चरण, बालबालिकामा आउने परिवर्तन, त्यस्तो परिवर्तनको समयमा गर्नुपर्ने व्यवस्थापन र असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने विषयमा प्रिन्सीपल धितालले प्रस्तुती राख्नुभएको थियो । अभिमुखीकरणमा अभिभावकले विद्यालयमा पछिल्लो समय हुँदै आएको कार्यप्रति सन्तुष्टी जनाउँदै विद्यालयको सकारात्मक प्रयासमा अभिभावकको भूमिका रचनात्मक र सहयोगी हुने प्रतिवद्धता व्यक्त गरिएको छ । अभिभावक अभिमुखीकरणका लागि आयोजित कार्यक्रममा विद्यार्थीको पनि सहभागिता रहेको थियो ।