छात्रावासको उद्घाटन गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामा ।

बस्तीपुरः हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविमा निर्माण गरिएको छात्रा छात्रावासको शुक्रबार उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले छात्रावासको उद्घाटन गर्नुभएको हो । हेटौंडा उपमहानगरपालिकाको ४८ लाख रुपैयाँ बजेट र विद्यालयको ९ लाख रुपैयाँ बजेट गरी कुल ५७ लाख रुपैयाँ लागतमा छात्रावास भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक प्रवोध विडारीले जानकारी दिनुभएको छ ।

छात्रावासको निरीक्षण गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामासहित वडा अध्यक्ष नरनाथ सुवेदी ।

वडाकै ग्रामीण क्षेत्र र उत्तरीक्षेत्रको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विपन्न विद्यार्थीहरुलाई लक्षित गरी छात्रावास निर्माण गरिएको हो । छात्रावासमा ८० जना विद्यार्थीलाई राख्न सकिनेछ । विद्यालय व्यवस्थापन समितिकी निवर्तमान अध्यक्ष इन्दिरा तामाङले विद्यार्थीको सुरक्षा र सहजताका लागि छात्रावास निर्माणको पहल गरिएको बताउनुभयो ।

छात्रावास उद्घाटन गर्नुहुँदै नगर प्रमुख मीना कुमारी लामाले शिक्षाको अधिकार सुनिश्चित गर्न उपमहानगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । नगर प्रमुख लामाले उपयुक्त शैक्षिक वातावरण निर्माण गर्न पनि उपमहानगरले आवश्यक कार्य गर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा भवन निर्माण समितिकी संयोजक देउती माया थिङ, वडा अध्यक्ष नरनाथ सुवेदीको पनि उपस्थिति रहेको थियो । कक्षा १२ सम्म पठनपाठन हुने निर्मल माविमा १ हजार ६ सय विद्यार्थी अध्ययरत छन् ।