हेटौंडाः निजी रेडियो सञ्चालकहरुको संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) को अठारौं महाधिवेशनबाट मकवानपुरका रेडियो सञ्चालक उज्ज्वल चौलागाई राष्ट्रिय समितिको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यसअघि उपाध्यक्ष रहनुभएका चौलागाई सर्वसम्मत वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । चौलागाई हेटौंडा एफएमका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

आइतबार सम्पन्न महाधिवेशनले कुमार भट्टराईलाई अध्यक्षतामा २९ सदस्यीय राष्ट्रिय समिति चयन गरेको छ । यसअघि भट्टराई वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो । यस्तै महाधिवेशनबाट मकवानपुरका रेडियो सञ्चालक गंगा पौडेल बागमती प्रदेश संयोजक चयन हुनुभएको छ । पौडेल हेटौंडाको रेडियो आकाशगंगाको प्रबन्ध निर्देशक हुनुहुन्छ । देशभरका ३ सय भन्दा बढी रेडियोका सञ्चालकको सहभागिता रहेको बानको महाधिवेशनको उद्घाटन कार्यक्रम राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको प्रमुख आतिथ्यमा भएको थियो ।