हेटौंडाः हेटौंडा उपमहानगरपालिकालाई २०८० साल मंसिरसम्ममा बालमैत्री घोषणा गर्ने निर्णय गरिएको छ । आइतबार हेटौंडामा आयोजित अभिमुखीकरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले आगामी बर्षको मंसिरसम्ममा नगरलाई बालमैत्री उपमहानगरपालिका घोषणा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

कार्यक्रममा नगरप्रमुख लामासहित सहभागीहरुले उपमहानगरलाई बालमैत्री स्थानीय शासन नीतिगत कार्यान्वयनका लागि अवलम्बन तथा घोषणाको लागि सामुहिक प्रतिवद्धता समेत जनाएका थिए । बालमैत्री पालिका घोषणा गर्ने तयारीका लागि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको संयोजकत्वमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, नगरका सम्पूर्ण वडाका अध्यक्षहरु, उपमहानगरका शिक्षा, स्वास्थ्य, सामाजिक विकास महाशाखा, विषयगत संघ, संस्था, विद्यालयका प्रधानाध्यापकहरु सम्मिलित समिति निर्माण भएको समितिका सदस्य सचिव तथा उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ ।
आइतबार जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बालमैत्री पालिका घोषणाका लागि गर्नुपर्ने कार्य र जिम्मेवारीका बारेमा सरोकारवालालाई एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । अभिमुखीकरणमा वडा अध्यक्ष, उपमहानगरपालिकाका विषयगत महाशाखाका प्रमुख तथा प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, बाल क्लबका पदाधिकारीको सहभागिता रहेको थियो ।











