केही दिनअघि हेटौंडाको एफसी विजय युथ क्लबले पनि रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गर्दै एफसी विजय युथका पदाधिकारी तथा खेलाडीहरु ।

हेटौंडाः रगतको अभाव भइरहेका बेला हेटौंडाको फुटबल क्लब एफसी विजय युथका पदाधिकारी तथा खेलाडीले आज रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडामै पुगेर विजय युथका पदाधिकारी तथा खेलाडीले २३ पिन्ट रगत दिएका हुन् । रक्तसञ्चार केन्द्रमा ए पोजेटिभ र बी पोजेटिभ रगतको अभाव भएको भन्ने समाचार प्रकाशन भएपछि हिजो मंगलबार एकै दिन १३ जनाले रक्तदान गरेका थिए ।
रगत अभाव भएको भन्ने जानकारीपछि आज रक्तदानका लागि क्लबकै पदाधिकारी, सदस्य र खेलाडीलाई रक्तदान गर्न रक्तसञ्चार केन्द्रमै लिएर गएको जानकारी गराउनुहुँदै विजय युथका अध्यक्ष सुदीप राजबाहकले भन्नुभयो, “अभाव भए तत्कालै र आज संकलन भएको रगत सकिएपछि एक सातापछि पुनः रक्तदानका लागि अन्य दाताको खोजी गरी रक्तदानका लागि रक्तसञ्चार केन्द्र जान्छौं ।” रगतको अभाव भएको भन्ने समाचार पढेर हेटौंडा–८, कमानेका उमेश थापा मगरले पनि आज बिहानै रक्तसञ्चार केन्द्र पुगेर रक्तदान गर्नुभएको थियो । आज एकैदिन २४ जनाले रक्तसञ्चार केन्द्र नै पुगेर रक्तदान गरेका छन् ।