मनहरी गाउँपालिकाले निर्माण गरेको आइसोलेसन कक्षको निरीक्षण गर्नुहुँदै नेता बानियाँ ।

हेटौंडाः बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता, कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ आज मनहरी र राक्सिराङ गाउँपालिकाको निरीक्षण गर्न पुग्नु भएको छ । मकवानपुरको पश्चिमी क्षेत्रस्थित दुईवटा गाउँपालिका पुगेर आज आइसोलेशन वार्डको निरीक्षण गर्नुभएको हो । निरीक्षणको क्रममा नेता बानियाँले यसअघि घोषणा गर्नुभएको कोरोनाविरुद्धको अभियानका लागि मनहरी गाउँपालिकालाई एक लाख र राक्सिराङ गाउँपालिकालाई दुई लाख रुपैयाँ सहयोग गर्नुभएको छ । बानियाँले राक्सिराङ गाउँपालिकालाई पनि सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
मनहरी, राक्सिराङ र कैलाश बानियाँको निर्वाचन क्षेत्र समेत हो । नेता बानियाँले राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई भेट्नु भयो । कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई धन्यवादसमेत दिनुभयो । यस्तै नेता बानियाँले राक्सिराङ गाउँपालिका–५, बोटबारीका ज्यालादारी र मजदुरी गरेर खाने ३० घरपरिवारलाई खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।