हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा हालसम्म ३ हजार १ सय १८ परिवारलाई राहत वितरण गरेको जनाएको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले लक डाउन गरेपछि हेटौंडाका दैनिक ज्यालादारी गर्ने परिवारलाई दैनिक छाक टार्न समस्या नहोस् भनेर उपमहानगरपालिका र विभिन्न संघ, संस्थाको सहयोग एवम् सहकार्यमा हालसम्म नगरका १९ मध्ये १४ वटा वडामा राहत वितरणको कार्य भएको उपमहानगरपालिकाले जनाएको छ ।
वडा नम्बर २, ५, ८, १२ र १५ नम्बर वडामा राहत वितरण नभएको उपमहानगरपालिकाको भनाइ छ । उपमहानगरपालिकाले दोस्रो चरणमा अति विपन्न र दैनिक ज्याला मजदुरी गरी घर चलाउने परिवारलाई १५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ केजी नुन र नुहाउने साबुन ४ वटाका दरले वितरण गरिने जनाएको छ । आजै उपमहानगरपालिकाले ९० टन चामल, १२ टन मसुरोको दाल, ६ टन नुन, १२ हजार लिटर सूर्यमुखी तेल र २४ हजार थान साबुन खरिद गर्न सम्झौता गरेको छ । भोलिबाटै राहत वितरण गरिने उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिनुभयो ।