जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीलाई फारम बुझाउनुहुँदै धर्मलाल राजथला ।

हेटौंडाः आफूले कुन–कुन प्रतियोगितामा सहभागी भएर कहाँ, कहिले कुन स्थान हासिल गरियो भन्ने बताउन हम्मे हम्मे छ । उमेरले ७२ लागे पनि जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागी हुने योजनासहित मंगलबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुग्नु भएका धर्मलाल राजथलाले जिल्लास्तरीय छनोट खेलमा सहभागिताका लागि आवेदन फारम भर्नुभएको छ । बुद्धिचाल खेलमा कोही सिनियर, कोही जुनियर नहुने तर्क गर्नुहुने राजथला २०२९ सालमा जिल्लास्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको बताउनुहुन्छ ।

“२०२९ सालमा बुद्धिचाल खेलको जिल्लास्तरीय प्रतियोगिता भएको थियो । १५ जना सहभागी प्रतियोगितामा म प्रथम भएको थिएँ”, राजथलाले भन्नुभयो, “बुद्धिचालमा कोही सिनियर र कोही जुनियर हुन्न । म अहिले पनि खेल्न सक्छु । राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जिल्ला छनोटमा सहभागी हुन फारम भर्न आएको छु ।” राष्ट्रिय प्रतियोगितामा असंख्य सहभागिता जनाउनुभएका राजथला बुद्धिचालको विश्व संस्था फिडे रेटेड (१७६५) खेलाडी हुनुहुन्छ । “फिडे रेटेड ८ जना खेलाडीलाई जितेपछि मात्रै फिडेले रेटेड खेलाडीको रुपमा स्वीकार्छ”, राजथलाले भन्नुभयो, “इलाममा भएको खेलमा अमेरिकी रेटेड खेलाडीसहित विभिन्न समयमा भएका खेलमा रेटेड खेलाडीलाई पराजित गरेँ ।”

जिल्ला खेलकुद विकास समिति मकवानपुरले जिल्लास्तरीय छनोट खेलमा सहभागी हुन आवेदन फारम भर्न खेलाडीलाई सूचित गर्ने तयारी गरिरहेका बेला राजथला आवेदन फारम भर्न पुगिसक्नुभएको थियो । नेपाल बुद्धिचाल संघका पदाधिकारीले प्रतियोगिताका बारेमा जानकारी गराएपछि राजथला मंगलबार खेलकुद विकास समितिको कार्यालय पुग्नुभएको हो । राजथलाले मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीलाई आवेदन फारम बुझाउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले बुद्धिचाल खेलमा ३ जना महिला र ३ जना पुरुष खेलाडी सहभागी गराउन परिपत्र गरेको जानकारी गराउनुहुँदै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले जिल्लाका अग्रज खेलाडीले उत्साहका साथ छनोट प्रतियोगितामा सहभागी हुन देखाउनुभएको अग्रसरताले युवा र किशोर खेलाडीलाई प्रेरित गर्ने बताउनुभयो । मकवानपुर जिल्लाबाट १८ खेलमा बढीमा ३ सय ९९ जना खेलाडी सहभागी गराउन सकिने अध्यक्ष खड्गीले जानकारी दिनुभयो ।

जिल्लास्तरीय छनोट प्रतियोेगिता भदौ ४ गतेदेखि ९ गतेसम्म हुने मकवानपुर जिल्ला खेलकुद विकास समितिका निमित्त प्रमुख माधव कोइरालाले जानकारी दिनुभयो । जिल्लास्तरीय प्रतियोगिताबाट छानिएर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई एक साता बन्द प्रशिक्षणमा राखिने अध्यक्ष खड्गीले बताउनुभएको छ । प्रदेशस्तरीय छनोट प्रतियोेगिता भदौ २० देखि २५ गतेसम्म आयोजना हुने बताइएको छ ।

मकवानपुर जिल्लाबाट टेबल टेनिस, उसु, जुडो, बास्केटबल, कबड्डी, बुद्धिचाल, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, हक्की, रग्वी, कराँते, तेक्वान्दो, बक्सिङ, भलिबल, एथ्लेटिक्स, फुटबल, क्रिकेट र व्याड्मिन्टन खेलमा सहभागिता रहने उसु खेलका प्रशिक्षक विमल थापाले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद प्रतियोेगितामा ३६ वटा खेल खेलाइने भए पनि मकवानपुर जिल्लाबाट १८ खेलको मात्रै सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले पत्र पठाएको छ । राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने १८ खेलमध्ये मकवानपुर जिल्लाका लागि ४ खेलका प्रशिक्षक मात्रै राष्ट्रिय खेलकुद परिषद्ले नियुक्त गरेको छ भने फुटबलका लागि एन्फाले प्रशिक्षक नियुक्त गरेको छ । केही खेलमा स्वयम्सेवी प्रशिक्षकहरु छन् भने केही खेलमा प्रशिक्षक समेत छैनन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीलाई फारम बुझाउनुहुँदै धर्मलाल राजथला ।