हेटौंडाः हेटौंडामा कोरा साइकल र्याली सुरु भएको छ । शनिबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले र्यालीको उद्घाटन गर्नुभयो ।
हेटौंडा राइडर्स क्लबको आयोजनामा भएको र्याली शनिबार दिउँसो हेटौंडा–१८ स्थित गुम्बाडाँडामा पुगेको क्लब सदस्य तथा कार्यक्रम व्यवस्थापक विपिन ताम्राकारले जानकारी दिनुभयो । गुम्बाडाँडामा साँस्कृतिक कार्यक्रमको आयोजना हुने उहाँले बताउनुभयो । र्यालीमा चितवन, बारा, पर्सा र अन्य जिल्लाका गरी १ सय ८० जना साइकल राइडरहरुको सहभागिता रहेको ताम्राकारले जानकारी दिनुभयो । साइकल राइडरहरु दिनको ४ बजे बुद्धचोकमा आइपुगेपछि कार्यक्रम समापन हुने उहाँले बताउनुभयो ।
धार्मिकस्थलहरुलाई गन्तव्य बनाई समूहमा साइकल यात्रा गर्नुलाई कोरा भन्ने गरिन्छ । साइकल प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले हेटौंडा राइटर्स क्लबले विविध क्रियाकलाप गर्दै आएको छ । पछिल्लो समय मकवानपुरमा साइकलको प्रयोग बढ्दो क्रममा छ । वातावरण संरक्षण, स्वास्थ्य र पेट्रोलियम पदार्थको प्रयोग न्यूनीकरण गर्न साइकलको प्रयोगलाई प्रोत्साहित गर्ने गरिएको छ ।











