पूर्वविद्यार्थी भेलामा सहभागीहरु ।

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टले पूर्वविद्यार्थीहरुसँग सहकार्य गर्ने भएको छ । स्नातक तथा स्नात्तकोत्तर तह उत्तीर्ण गरी विभिन्न पेशा, व्यवसायमा आवद्ध भएका पूर्वविद्यार्थीसँगको सहकार्यमा क्याम्पसको शैक्षिक विकास तथा सामाजिक सेवाको क्षेत्रमा सहकार्य गर्ने भएको हो । शुक्रबार क्याम्पसमा एक भेलाको आयोजना गरेर क्याम्पसले पूर्वविद्यार्थीलाई संगठित गर्ने प्रयास गरेको छ । पूर्वविद्यार्थी संगठनको तदर्थ समितिका अध्यक्ष अमुल श्रेष्ठको अध्यक्षता तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरन बहादुर जोशीको प्रमुख आतिथ्यमा पूर्वविद्यार्थीको भेला भएको हो ।

पूर्वविद्यार्थीको भेलालाई सम्बोधन गर्नुहुँदै प्रिन्सीपल पुरन बहादुर जोशीले कडा अनुशासन, स्तरीय शिक्षा हेटौंडा स्कूलको मूल मर्म भएको उल्लेख गर्नुभयो । क्याम्पसले सामाजिक सेवाको क्षेत्रमा पनि काम गरिरहेको र समाजमा सकारात्मक काम गर्न पूर्वविद्यार्थीलाई जोशीले आव्हान गर्नुभयो । पछिल्लो समय क्याम्पसमा नयाँ टिमले आधुनिक प्रविधिमा आधारित भएर पठनपाठन गराउँदै आएको जानकारी गराउनुहुँदै उहाँले पूर्वविद्यार्थीले क्याम्पसलाई राम्रो बनाउने भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो । पूर्वविद्यार्थीलाई क्याम्पसले नियमित परिचालन गर्ने उल्लेख गर्नुहुदै प्रिन्सीपल जोशीले भन्नुभयो, ‘पूर्व विद्यार्थीको लगानी समेत रहने गरी काम गरौं । समाजका विभिन्न क्षेत्रमा विद्यार्थी पुगेका छन् । पूर्व विद्यार्थी कलेजका राजदूत हुन् । हामी हरेक वर्ष पूर्व विद्यार्थीको भेला गर्छौं ।’

पूर्वविद्यार्थी भेलालाई सम्बोधन गर्नुहुँदै प्रिन्सीपल पुरनबहादुर जोशी ।

कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका शैक्षिक तथा योजना निर्देशक दीपेश जोशीले हालसम्म २ हजार ७ सय ५ जना विद्यार्थीले स्नातक तह र स्नातकोत्तर तहको अध्ययन पूरा गरिसकेको जानकारी दिनुभयो । पुरन बहादुर जोशी र उहाँ नेतृत्वको समूहले हेटौंडा स्कूल अफ म्यानेजमेन्टलाई एउटा उचाईमा ल्याएको उल्लेख गर्नुहुँदै जोशीले भन्नुभयो, ‘पुरनबहादुर जोशी नेतृत्वको टिमले राजनैतिक क्रियाकलापरहित शिक्षालाई सार्थक तुल्यायो । अब हामी आजको विश्व बजारअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक कार्यक्रम सन्चालन गर्छौं । पूर्वविद्यार्थीहरुको ज्ञान, सीप, दक्षतालाई प्रयोग गरेर हेटौंडा स्कूल अफ म्यानेजमेन्टलाई उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित गर्ने जोशीको भनाइ थियो ।

पूर्वविद्यार्थीहरुले निजी संस्था भएकोले भावनात्मक रुपमा कम चासो भएको बताएका थिए । आफूले उच्च शिक्षा हासिल गरेको शैक्षिक संस्थाको विकासमा पूर्वविद्यार्थीको भूमिका सकारात्मक रहने प्रतिवद्धता जनाएका पूर्वविद्यार्थीले निजी संस्था भए पनि सामाजिक सेवाको क्षेत्रमा, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पूर्वविद्यार्थीले सक्दो सहयोग गर्ने बताएका छन् । पूर्वविद्यार्थी भेलाको अवसरमा पूर्वविद्यार्थीहरुको क्रियाकलापका बारेमा जानकारी गराउने उद्देश्यले वेभसाइटको सुरुवात समेत गरिएको छ । कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका कानूनी सल्लाहकार ईश्वरराज ढकाल, भाइस प्रिन्सिपल रामपण्डित खनालको पनि उपस्थिति रहेको थियो ।