हेटौंडाः सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो ।

निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि राखेर कार्यतालिकासहित मंसिर २ गते निर्वाचनको मिति तोक्न सिफारिस गरेको थियो । तर, सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तोकिएपछि निर्वाचन आयोगले मतदाता नामावली स्थगित गर्ने भएको छ । आयोगले जिल्ला निर्वाचन कार्यालयसहित कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता साउन २० गतेबाट स्थगित गर्ने भएको छ ।