हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको अग्रसरतामा हेटौंडाको भुटनदेवी माविमा इन्जिनियरिङ क्याम्पस सञ्चालनमा आउने भएको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले भुटनदेवी माविमा इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले भुटनदेवी माविमा सिभिल इन्जिनियरिङ विषयको स्नातक तहको कार्यक्रम सञ्चालन गर्न उपमहानगरले अभिभावकत्वको भूमिका निर्वाह गर्ने निर्णय भएको हेटौंडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य फुर्वा दोर्जे लामाले जानकारी दिनुभएको छ ।

भुटनदेवी मावि व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका लामाले स्नातक तहमा सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालनका लागि आवश्यक कानून निर्माण गर्न उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो । उपमहानगरको राजपत्रमा कार्यपालिकाको निर्णय सार्वजनिक भएपछि आवश्यक कानून निर्माण गरिने उहाँको भनाइ छ । सम्भव भएसम्म त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिने, त्रिभुवन विश्वविद्यालयबाट सम्भव नभए पूर्वाञ्चल वा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर आगामी शैक्षिक सत्रमा पठनपाठन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
२०७० सालदेखि मावि (९–१२) तहमा सिभिल इन्जिनियरिङ विषय पठनपाठन गर्दै आएको भुटनदेवी मावि स्नातक तहको सिभिल इन्जिनियरिङ विषय सञ्चालनका लागि आर्थिकरुपमा सक्षम रहेको अध्यक्ष लामाको भनाइ छ । भक्तपुर जिल्लाको ख्वपः कलेजकै ढाँचामा स्थानीय सरकारले अग्रसरता र अभिभावकत्वमा इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी गरिएको लामाले बताउनुभयो ।

वार्षिक ४८ जना विद्यार्थीले विद्यालय तहमा सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरे पनि हेटौंडामै विश्वविद्यालय तहको अध्ययन गर्ने अवसर नहुँदा आधाभन्दा बढी विद्यार्थीले स्नातक तह अध्ययन गर्न नपाइरहेको सन्दर्भमा लामो समयदेखि इन्जिनियरिङ क्याम्पस सञ्चालनको प्रयास भइरहेको भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहालको भनाइ छ । झण्डै एक दशकदेखि इन्जिनियरिङ क्याम्पस सञ्चालनको योजना बनाएको भुटनदेवी माविले अन्ततः भक्तपुर जिल्लाको ख्वपः कलेजकै मोडलमा स्थानीय सरकारको अभिभावकत्वमा इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी गरेको प्रधानाध्यापक दाहालको भनाइ छ ।

भुटनदेवी माविबाट सिभिल इन्जिनियरिङ विषयमा १२ कक्षा उत्तीर्ण विद्यार्थीमध्ये वार्षिक २० जना हाराहारीमा छिमेकी जिल्ला चितवन वा संघीय राजधानी काठमाडौंका कलेजमा स्नातक तहको अध्ययन गर्न जाने गरेका भुटनदेवी माविका सिभिल इन्जिनियरिङ विषयका शिक्षक राम श्रेष्ठ बताउनुहुन्छ । सिभिल इन्जिनियरिङ विषयमै कक्षा १२ उत्तीर्ण विद्यार्थीसँगै विज्ञान संकायबाट १२ कक्षा उत्तीर्ण एक हजार हाराहारीको संख्यामा मकवानपुर जिल्लामै विद्यार्थी रहनुले इन्जिनियरिङ विषयको स्नातक तह सञ्चालन आए विद्यार्थीले हेटौंडामै अध्ययनको अवसर पाउने अपेक्षा गरिएको श्रेष्ठ बताउनुहुन्छ ।

ख्वपः कलेजकै ढाँचामा इलाम जिल्लामा पनि इन्जिनियरिङ क्याम्पस सञ्चालनमा आएको र सकारात्मक देखिएको उल्लेख गर्नुहुँदै श्रेष्ठले हेटौंडामा पनि उपमहानगरको अग्रसरतासँगै इन्जिनियरिङ क्याम्पस सञ्चालनमा आउने आशा बढेको बताउनुहुन्छ । केही दिन अघि मात्रै भुटनदेवी माविको व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, कर्मचारीको एक समूह ख्वपः इन्जिनियरिङ कलेजको भ्रमण गरेर फर्किएका हुन् । ५ वर्षअघि पनि ख्वपः इन्जिनियरिङ कलेजको भ्रमण गरेर भुटनदेवी माविमा ख्वपः कै ढाँचामा इन्जिनियरिङ कलेज सञ्चालनको प्रयास भएको थियो ।