जनप्रतिनीधिसँग छलफलपछिको सामुहिक तस्वीर ।

हेटौंडाः थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति गर्न संघीय मन्त्रीहरु सकारात्मक भएका छन् । मंगलबार थाहा नगरपालिका र चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरुसँगको छलफलका क्रममा भौतिक पुर्वाधार विकास मन्त्री मोहम्मद इस्तियाक राई र अर्थमन्त्री जनार्दन शर्मा सडक स्तरोन्नतीको लागि सकारात्मक भएका हुन् ।

भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र सडक विभागका महानिर्देशक अर्जुन जंग थापा सहितको छलफलमा सडक बिभागले उक्त सडकको डिपिआर तयार गरेपछि सडक निर्माण र स्तरोन्नति गर्न लाग्ने बजेट सुनिश्चित गर्न दुबै मन्त्रीहरु सकारात्मक भएका हुन् । थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले संघीय राजधानी र प्रदेश राजधानीलाई जोड्ने सबैभन्दा छोटो मार्ग भएकोले थानकोट चन्द्रागिरि चित्लाङ सडक स्तरोन्नति गर्न अत्यावश्यक भएको बताउनुभयो । उहाँले त्रिभुवन राजपथ अन्तरगत नौबिसे थानकोट सडकको चाप कम गर्न पनि यो सडकले सहयोग गर्ने बताउनुभयो ।

थाहा नगरपालिका र चन्द्रागिरि नगरपालिकाको संयुक्त बैठकले चालु आर्थिक वर्षमा थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति गर्न सबै प्रकारको प्रयास र सहयोग गर्ने निर्णय गरेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले बताउनुभयो । भौतिक पुर्वाधार विकास मन्त्री राईले ५० करोड रुपैयाँभन्दा कम लागतको डिपिआर तयार भए मन्त्रालयबाट नै बजेटको व्यवस्था गर्ने र ५० करोड रुपैयाँभन्दा बढि लागत लाग्ने भएमा अन्य मन्त्रालयमा सिफारिश गर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले भौतिक पुर्बाधार विकास मन्त्रालयबाट आएको योजनामा बजेट विनियोजन गर्न आफु सकारात्मक भएको बताउनुभयो । अर्थमन्त्रीले बजेट भाषणमै चन्द्रागिरिबाट चितवन जोड्ने द्रुत मार्गको निर्माण गर्ने उल्लेख गरेको जानकारी दिनुभयो ।

छलफलमा त्रिभुवन राजपथको धादिङ नौबिसे सडक खण्ड जिर्ण भएकोले सो सडकको मर्मत गर्नको लागि समेत अनुरोध गरिएको छलफलमा सहभागी माओवादी केन्द्र बागमति प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । मन्त्रीहरुसँगको छलफलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्ट, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि, माओवादी नेता रामनारायण विडारी, विष्णुहरी ढकाल (जंगली), नेपाली कांग्रेसका नेता जयराम लामिछाने, माओवादी केन्द्र बागमती प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठ, थाहा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजकुमार बलामी, ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी लगायतको सहभागिता रहेको थियो ।