पुस्तक विमोचन गर्नुहुँदै मन्त्री, सचिव र रजिष्ट्रार ।

हेटौंडाः बागमती प्रदेश सरकारको सञ्चार रजिष्ट्रारको कार्यालयले प्रकाशन गरेको डिजिटल साक्षरता र उहिलेको पत्रकारिता पुस्तक विमोचन गरिएको छ । आन्तरिक ममिला तथा कानुन मन्त्रालयको सभाकक्षमा आमन्त्रित पत्रकारको मात्रै उपस्थितिमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले आइतबार पुस्तक विमोचन गर्नु भएको हो ।

उहिलेको पत्रकारिता पुस्तक ज्येष्ठ पत्रकारहरु भैरव रिसाल, नारायणप्रसाद शर्मा, कृष्ण ताम्राकार, लालध्वज देउसा राई र रामकृष्ण रेग्मीका अनुभव समेटिएका छन् । पुस्तकमा ७० बर्षभन्दा बढी उमेरका ५ जना ज्येष्ठ पत्रकारको अनुभव समेटिएको छ । यस्तै डिजिटल साक्षरता पुस्तक रविराज बराल, प्रमोद पोखरेल, अजयमणि पौडेलले लेख्नुभएको छ ।

पुस्तक विमोचनपछि बागमती प्रदेश सरकारका आन्तरिक ममिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले पत्रकारिताको अभ्यासमा हिजो कहाँ थियौं र भोलि हामी कहाँ जाँदैछौं भन्ने बुझाउने दुई पुस्तक तयार भएको बताउनुभयो । जिम्मेवार रजिष्ट्रारकै कारण उल्लेखनीय कार्य भएको उल्लेख गर्नुहुँदै मन्त्री खनालले प्रविधिसँग जोडिनु पर्ने बताउनुभयो ।

मन्त्रालयका सचवि नारायण प्रसाद शर्माले पुस्तक प्रकाशनको कार्य सिर्जनशील र रचनात्मक भएको बताउनुभयो । पत्रकारिताको विगतको अभ्यास र वर्तमानको प्रविधिको सन्दर्भमा पुस्तक प्रकाशनको कार्य महत्वपूर्ण भएको सचिव शर्माको भनाइ छ ।

यसअघि पनि रजिष्ट्रारको कार्यालयले पुस्तक प्रकाशन गरेको र ती पुस्तक त्रिभुवन विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रमका लागि सन्दर्भ सामग्रीको रुपमा समावेश हुने चरणमा रहेको रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिनुभयो । इतिहासको अनुभवलाई दस्तावेजको रुपमा स्थापित गर्न सफल हुनुका साथै आधुनिक प्रविधिका बारेमा पुस्तक तयार पार्न सफल भएको सापकोटाले बताउनुभयो ।