थाहा नगरपालिकाको विकासका योजनाबारे छलफल गर्दै ।

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले थाहा नगरपालिकाका विकास योजनाहरुको अनुगमन गरेको छ । जिल्ला समन्वय उपप्रमुख सानुकाजी लुइटेलको नेतृत्वमा थाहा नगर अन्तर्गतका योजनाहरुको अनुगमन गरिएको हो । जिसस उपप्रमुख सानुकाजी लुइटेलको नेतृत्वमा थाहा नगर पुगेको टोलीले थाहा नगरपालिका वडा नम्बर ३ मा निर्माणाधिन थाहा शीतभण्डार, जनकल्याण माविको अधुरो भवन, थाहा बसपार्क, थाहा पार्कलगायतका योजनाहरु अनुगमन गरेको हो । अनुगमनका क्रममा पालिकाले गरेका विकास निर्माणका कामहरुमा प्रभावकारिता पाइएको टोलीले प्रतिक्रिया दिएको छ ।

थाहा शीतभण्डार यस क्षेत्रका किसानहरुका लागि निकै उपयोगी सावित हुने जिसस उपप्रमुख लुईटेलले बताउनुभयो । उहाँले कृषि त्यसमा पनि तरकारीको उर्वरभूमि थाहामा शीतभण्डार निर्माण सम्पन्न भई प्रयोगमा आउँदा छिमेकी पालिकाहरुलाई समेत फाइदा हुने बताउनुभयो । थाहा शीतभण्डार १ हजार ७ सय मेट्रिक टन क्षमताको रहेको छ । अनुगमन टोलीले थाहा बसपार्कको पनि अनुगमन गरेको छ । पालिकाको गौरवको योजनाको रुपमा रहेको थाहा बसपार्कलाई प्रयोगमा ल्याउन अनुगमन टोलीले सुझाव दिएको छ । थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माण भएको बसपार्क संचालनमा ल्याएर नागरिकलाई सुविधा प्रदान गर्न करिब तयारी अवस्थामा देखिएको बताउँदै अब क्रमशः सञ्चालन ल्याउनु पर्ने अनुगमन टोलीको धारणा रहेको थियो ।
अनुगमन टोलीले जनकल्याण माविको निर्माणाधिन भवनको पनि अनुगमन गरेको छ । भारतीय दुतावासको सहयोगमा साविक जिल्ला विकास समिति मकवानपुरले २०७१ सालमा निर्माण प्रारम्भ गरेको भवन निर्माण अलपत्र अवस्थामा परेकोमा पुनः बाँकी कामको ठेक्का लगाउने विषयमा समेत छलफल भएको छ । श्री मिलेनियम शंकरमाली जे.भी. निर्माण कम्पनीसँग सम्झौता गरी भवन निर्माण थालिएकोमा उक्त कम्पनीले काम नगरेपछि ठेक्का रद्द हुँदा निर्माण सम्पन्न अनिश्चित भएको थियो । जिल्ला समन्वय समिति मकवानपुरको सिफारिसमा सो कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेपछि ठेक्का स्वतः रद्द भएको हो ।

जनकल्याण माविको अधुरो भवन निर्माणका लागि करिब डेढ करोड रुपैयाँ जिल्ला समन्वय समितिसँग हुने र सो बजेटबाट काम गरी विद्यालय निर्माण सम्पन्न गर्ने योजना रहेको जिसस मकवानपुरकी निमित्त जिल्ला समन्वय अधिकारी सुनिता गजुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सुन्दा नि लाज लाग्ने अवस्था भैसक्यो ९ वर्षमा पनि विद्यालय भवन निर्माण सकिएन, अब जिल्ला समन्वय समिति र थाहा नगरपालिकाको समेत सहभागितामा विद्यालय भवन निर्माण गर्नका लागि प्रतिवद्ध हुनुपर्छ ।” विद्यालय भवन निर्माणलाई पूर्णता दिनको लागि थाहा नगरपालिकाको प्राविधिकले बाँकी कामको लागत तयार गर्नका लागि सहयोग गरिदिन निमित्त समन्वय अधिकारी गजुरेलले अनुरोध गर्नुभयो । थाहा नगरपालिकाले उक्त काम गर्नका लागि इन्जिनियर सन्तोष बोहरालाई तोकेको छ । जनकल्याण माविको भवन पूर्णताका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने उपप्रमुख भरत गोपालीले बताउनुभयो ।

विद्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समितिको तर्फबाट समन्वय र सहकार्य हुने जिसस उपप्रमुख लुइटेलले प्रतिवद्धता जनाउनुभयो । छलफल तथा अनुगमनमा जिल्ला समन्वय समिति सदस्य सूवर्ण गोपाली, थाहा नगर उपप्रमुख भरत गोपाली, जिल्ला समन्वय समितिका उपेन्द्रनाथ पोखरेल, थाहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे, सूचना अधिकारी सुरजकुमार भुजेल, जनकल्याण मावि व्यवस्थापन समितका अध्यक्ष राजीवकुमार स्याङ्तान, सहायक प्रधानाध्यापक कृष्ण बहादुर विष्ट, लेखापाल मधुसुदन रायमाझीको उपस्थिति रहेको थियो ।

अनुगमन कार्यक्रम अघि थाहा नगरपालिकामा नगरमा क्रियाशील बालुवा प्रशोधन केन्द्र तथा क्रसर व्यवसायीहरुसँग पालिकामा छलफल भएको थियो । कार्यक्रममा प्राकृतिक स्रोत उत्खनन् निकासी लगायतको विषयमा हुने कानुनी प्रक्रियाहरुको विषयमा छलफल भएको थियो । थाहानगरमा प्राकृतिक स्रोतको उत्खनन् तथा निकासीको विषयमा थाहानगर राजश्व परामर्श समितिका सदस्य सचिव सुदर्शन पहेलीले जानकारी गराउनुभएको थियो । कार्यक्रममा व्यवसायीहरुले आफ्नो समस्याहरुको विषयमा समेत छलफल गरेका थिए ।