नगर प्रमुख मीना कुमारी लामा । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । ५ वर्ष उपमहानगरको उपप्रमुखको जिम्मेवारीपछि नगर प्रमुखको जिम्मेवारीमा रहनुभएकी लामाको १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिक बाहेक २० हजार बैंक मौज्दात रहेको उहाँको सचिवालयले जनाएको छ । सोमबार उपमहानगर प्रमुखको सचिवालयले सम्पत्ति विवरणबारे जानकारी गराएको हो ।

नेकपा एकीकृत समाजवादीबाट उपमहानगर प्रमुखको उम्मेदवार बन्नु भएकी लामाले पारिश्रमिक वापत पाउने ४० हजार रुपैयाँ कृषि विकास बैंकमा रहेको जानकारी दिनुभयो । सार्वजनिक गरेको सम्पत्ति विवरणमा अन्य कुनैपनि कारोबारमा आफू संलग्न नभएको प्रमुख लामाले स्पष्ट पार्नुभएको छ । उहाँले सार्वजनिक गर्नुभएको विवरणमा ससुरा कान्छा लामाको नाममा हेटौंडा–१ चाइनाक्वाटरमा ११ धुर जग्गा, सासु सानुमैयाको नाममा सवा १० धुर र सवा ६ धुर र ससुरा कान्छा लामाको नाममा ११ रोपनी जमिन रहेको उल्लेख छ ।

त्यस्तै श्रीमान सुनबहादुर लामाको नाममा कृषि बिकास बैंकमा ४० लाख ऋण रहेको छ भने ४० लाख बराबरको ट्याङकर गाडी, छोरा सुमित लामाको नाममा एक वटा २ लाख ५० हजार बराबरको मोटरसाइकल रहेको उल्लेख छ ।