हेटौंडाः बागमती प्रदेशको आइतबार बसेको प्रदेश सभा बैठकले ४ वटा विधेयक सर्वसम्मतले स्वीकृत गरेको छ । बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले सभामा पेश गर्नुभएको स्थानीय तहको सेवाको गठन तथा संचालन सम्बन्धमा बनेको विधेयकलाई दफावार छलफलको लागि प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको हो ।
यस्तै, मुख्यमन्त्री पाण्डेले सभामा पेश गर्नुभएको प्रदेश निजामति सेवाको गठन संचालन र सेवाको सर्तहरु सम्बन्धमा बनेको विधेयकलाई दफावार छलफलको लागि प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरिएको छ । त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालले सभामा पेश गर्नुभएको विभेषण सिफारिस तथा पदक र सम्मान सम्बन्धी ऐन २०७६ लार्ई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलको लागि प्रदेश मामिला समितिमा पठाईयोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।
यस्तै, यूवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले सभामा पेश गर्नुभएको प्रदेश यूवा परिषद् ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि शिक्षा स्वास्थ्य तथा कृषि समितिमा पठाईयोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो ।











