प्रदेश सभा सदस्यले उठाएका विषयको जवाफ दिँदै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे ।

हेटौंडाः आइतबार बसेको बागमती प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले असार २९ गते र साउन ७ गतेको विशेष समय र शून्य समयमा प्रदेश सभा सदस्यहरुले उठाएका विषयहरुको जवाफ दिनुभएको छ । उहाँले प्रदेश सभा सदस्यहरुलाई अनावश्यक टिप्पणी नगर्न अनुरोध गर्नुभएको छ ।

उहाँले संघीयता, प्रदेश खारेजी र नागरिकता ऐनको विषयमा अपवाह फैलाउने काम नगर्न सदस्यहरुलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभा सदस्यहरुले प्रदेश सभामा उठाएको विषयहरुको जवाफ दिँदै प्रदेशलाई अलग राखेर संघीयता कायम नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “२०१० सालमा पनि स्थानीय सरकार थियो । तर, प्रदेशको संरचना थिएन ।” संघीयता सुरु भएको साढे ४ वर्ष मात्रै भएको भन्दै उहाँले अहिले नै प्रदेश सरकार खचिलो भयो, भार बढी भयो, काम लागेन भनेर मुल्यांकन गर्ने समय नभएको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश सरकारको कमजोरी खोजेर समाधान तर्फ अगाडी बढ्न प्रदेश सभा सदस्यहरुलाई आग्रह गर्नुभयो । प्रदेश सरकारको विषयमा अनावश्यक टिका टिप्पणी गर्ने समय नभएको उहाँले स्पष्ट पार्नुभयो ।

नागरिकता ऐनको विषयमा स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नागरिकता ऐनको विषयमा छलफल नै नगर्ने भन्ने हुँदैन । नागरिकतामा धेरै समस्याहरु छन्, त्यस्ता समस्या समाधान गर्ने समय आएको छ । नागरिकता ऐन प्रतिनीधि सभाबाट पारित भएको छ ।” उहाँका अनुसार नागरिकता ऐनले लामो समयदेखिको अन्यौता हटाउने र समस्या समाधान गर्ने काम भएको छ । बुबाको पहिचान नभएको अवस्थामा नेपाली आमाबाट जन्मिएका बालबालिकाले नागरिकता कसरी दिने भन्ने व्यवस्था गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । ऐनमार्फत् नागरिकता समस्या समाधान गर्ने कोशिश गरिएको छ । राष्ट्रियता घुम्छ भन्ने भ्रम मात्र फैलाईएको भन्दै उहाँले नकारात्मक कुरा नगर्न अनुरोध गर्नुभयो । उहाँले सत्तापक्ष र प्रतिपक्ष दुबैको भावना समेट्ने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।