अभियानको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

हेटौंडाः नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले ४५ दिने शुद्धिकरण तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको चौथौ बैठकबाट यस्तो निर्णय भएको एमाले मकवानपुरले जनाएको छ ।

एमालेले साउन १ देखि भाद्र १५ गतेसम्म संगठन शुद्धिकरण तथा सुदृढीकरण अभियान २०७९ सञ्चालन गर्ने निणय भएको पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । पार्टीको पालिका, वडा र टोल स्तरमा पूर्व तयारीका साथ बैठक बस्ने, टोल कमिटी गठन गर्न बाँकी टोल कमिटीहरुमा गठन गर्ने, निष्कृय र विवादास्पद कमिटीहरु पुनः गठन गर्ने निर्णय गरेको छ । यस्तै, पार्टी सदस्य अभियानको रुपमा नवीकरण गर्ने, मापदण्ड पुगेको सदस्यलाई नयाँ सदस्यता फारम भर्ने, जनसंगठनको जिल्ला सम्मेलन आयोजना गर्ने, पालिका कमिटी र वडा कमिटीहरु व्यवस्थित गर्ने, पार्टीको पालिका वडास्तरसम्म र जनसंगठनको पालिकास्तरसम्म, जनप्रतिनिधिहरुको पालिका स्तरमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । प्रदेश, जिल्ला र पालिकास्तरमा “अग्रजबाट सिकौं र अग्रजहरुलाई सम्मान गरौं” कार्यक्रम आयोजना गर्ने, बुद्धिजिवी, विषय विज्ञहरुसँग पार्टीप्रतिको आलोचना सुझाव र टिप्पणी संकलन गर्ने र पालिकास्तरमा सुझाव संकलन गर्ने र वडा तहसम्मको पार्टी कार्यालय व्यवस्थित गर्ने निर्णय गरेको छ ।

यस्तै, जिल्ला र पालिकाको आन्तरिक लेखापरिक्षण गर्ने, पार्टी प्रवेश कार्यकर्तालाई पालिका कमिटीको सक्रियतामा प्रवेश फर्म भराउने, अभिलेख राख्ने जिम्मेवारी दिने र यसको संयोजन जिल्ला संगठन विभागले गर्ने बताईएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्रमा यथार्थ राजनीतिक शक्ति सन्तुलन के छ जानकारी लिने, आगामी निर्वाचनलाई ध्यानमा राखेर छुटेकाहरुलाई मतदाता नामावलीमा नाम समावेश गराउन पहल गर्ने, अभियान अवधिमा भएगरेका कार्यहरुको प्रचारलाई व्यवस्थित बनाउनको लागि जिल्ला र पालिका कार्यालयमा सूचना व्यक्ति तोक्नुपर्ने, पार्टी पालिका कमिटीले पार्टी पालिका कमिटी सदस्यहरु तथा वडा कमिटीका सदस्य तथा पदाधिकारी तथा सदस्यहरुको र जन वर्गिय संगठनको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, कार्यक्षेत्र र फोन नम्बर सहितको विवरण साउन मसान्तसम्म जिल्ला कार्यालयमा पठाइसक्नु पर्ने जस्ता निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षता, पार्टी स्थायी कमिटीका सदस्य तथा बागमती प्रदेश इञ्चार्ज काशिनाथ अधिकारीको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य रामेश्वर राना, बागमती प्रदेश कमिटीका उपसचिव महेश कुमार बतौलासहित प्रदेश कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।