प्रेस युनियनको राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।

हेटौंडाः नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न हेटौंडा आउनु भएको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई समाजप्रति उत्तरदायी हुन आग्रह गर्नुभएको छ । प्रेस युनियनले श्रमजीवि पत्रकारहरुको हक हितको लागि सशक्त आवाज उठाउँदै आएको भन्दै उहाँले समाजप्रति उत्तरदायी भएर जनतालाई सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “कोभिडको समयमा विश्वले नै संकटको सामाना गर्नु परेको थियो । त्यसको असर पत्रकारिता क्षेत्रमा पनि परेको थियो । कतिपय संचारमाध्यमहरु नै बन्द हुने अवस्थामा पुगेको थियो । संकटको अवस्थामा पनि अग्र भागमा खटिएर सत्य तथ्य सूचना सम्प्रेषण गरेको पत्रकारको भूमिका प्रशंसनीय छ ।” पत्रकारहरु सचेत र सजग भएर उत्तरदायी हुन आवश्यक रहेको उहाँको भनाई छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले महाधिवेशन पूर्ण सफलताको शुभकामना दिनुभएको छ ।