हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टाको अवधिमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा १७ जनाको पिसीआर विधीबाट स्वाब परीक्षण गर्दा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६ जनाले कोरोनालाई जितेका छन् ।
स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको विवरण अनुसार अहिले मकवानपुर जिल्लामा सक्रिय संक्रमितको संख्या २७ जना रहेको छ । सबै सक्रिय संक्रमित घरमै होम आइसोलेसनमा उपचाररत रहेका छन् । केही दिनयता मकवानपुरमा कोरोना संक्रमण बढ्न थालेको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राम चन्द्र सापकोटाले जानकारी दिनुभएको छ । कोरोना संक्रमण दर बढ्न थालेको र अस्पतालमा कोरोनाका परीक्षणका लागि स्वाब परिक्षण गराउन आउनेको संख्या पनि बढेको उहाँले बताउनुभयो ।
दैनिक २० देखि ३० जना कोरोना परिक्षण गर्न आउने उहाँले बताउनुभयो । अहिले अस्पतालमा कोरोना संक्रमितहरुको स्वास्थ्यमा जोखिम नभएको कारण होम आइसोलेसनमा निको हुने गरेको उहाँले जानकारी दिनुभयो । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएमा अस्पतालले आईसीयूमा २ वटा बेड छुट्टाएको उहाँले बताउनुभयो । कोरोना संक्रमण बढ्न थालेकाले सबैले स्वास्थ्यका मापदण्ड अपनाउनु पर्नेमा उहाँको जोड दिनुभयो । उहाँले सबै नागरिकलाई खोपको पहिलो, दोस्रो र बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ ।