हेटौंडाः स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुर्व्यवहार गर्ने हेटौंडा क्याम्पसका कार्यालय सहयोगीलाई निलम्बन गरिएको छ । परीक्षाको चेकजाँचमा संलग्न २ जना कार्यालय सहयोगी महिलालाई त्रिभुवन विश्व विद्यालय लगायतका कुनै परीक्षामा सहभागी हुन नपाउने गरी बुधबारबाटै निलम्बन गरिएको हो ।

मंगलबार विद्यार्थीहरु परीक्षा हलमा प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा गोपनीयता हनन् हुने गरी चेकजाँच गरिएको र परीक्षार्थीलाई मानसिक तनाव दिइएको भन्दै पीडित परीक्षार्थीबाट छानविन गर्न माग गरिएको थियो । मकवानपुर बहमुखी क्याम्पसका ३ जना परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश पूर्व परीक्षा चेकजाँच गर्दा व्यक्तिगत गोपनियता हनन् हुने गरी चेकजाँच गरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन उत्रिएका थिए । सोही विषयमा बुधबार हेटौंडा क्याम्पस सञ्चालक समितिका पदाधिकारी, क्याम्पस प्रशासन, क्रियाशिल विद्यार्थी संगठनका प्रतिनिधीहरु, पीडित परीक्षार्थी, अभिभावक, पत्रकार, आरोपित कर्मचारीहरुको संयुक्त बैठकबाट छलफल गरी कार्यालय सहयोगीहरुलाई निलम्बन गर्ने सहमति भएको हो । यसैगरी कर्मचारीबाट परीक्षार्थीलाई अभद्र व्यवहार भएको गुनासो माथि सत्यतथ्य छानबिन गरी क्याम्पस सञ्चालक समक्ष कारबाहीका लागि सिफारिस गर्न तीन दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानबिन समिति गठन गरिएको छ । क्याम्पस प्रमुख देवचन्द्र मानन्धरको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

हेटौंडा क्याम्पसले परीक्षा केन्द्रमा परीक्षा सञ्चालनका क्रममा देखिएका कमजोरीप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा हुने परीक्षा व्यवस्थित, भयरहित र सौहार्दपूर्ण वातावरणमा सञ्चालन गर्नेे प्रतिबद्वता व्यक्त गरेको छ । विद्यार्थीमाथि दुर्व्यवहार भएको भन्दै बुधबार बिहानबाट विद्यार्थीले हेटौंडा क्याम्पस परिसरमा विरोध जनाएका थिए । विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीले क्याम्पसमा तोडफोड गर्दा हेटौंडा क्याम्पसको ६ वटा कोठाको सिसाका झ्यालहरु, एक दर्जनभन्दा बढी गमला पूर्ण रुपमा तोडफोड गरेका छन् भने सिसि क्यामरामा आंशिक क्षति पुगेको छ ।