हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले नयाँ शैक्षिक सत्रदेखि स्नातक तहमा नयाँ विषय सञ्चालन गर्ने भएको छ । स्नातक तहमा शिक्षाशास्त्र संकायअन्तर्गत सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्नातक तहमा सूचना तथा सञ्चार प्रविधि शिक्षा (बीआईसीटीई) सञ्चालन गर्न लागेको क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयले तयार पारेको स्नातक तहको सूचना तथा सञ्चार प्रविधि शिक्षा अध्ययन गरेका विद्यार्थीले पढाई पूरा गरिसकेपछि विद्यालय तहको कम्प्युटर शिक्षकको रुपमा राम्रो अवसर प्राप्त गर्न सक्नेछ । विद्यालय तहमा कम्प्युटर शिक्षाको आकर्षण भए पनि दक्ष जनशक्तिको अभावमा मावि तहको कम्प्युटर शिक्षा प्रभावकारी हुन सकेको छैन । ४ वर्षे स्नातक तहको शिक्षा पूरा हुँदा दक्ष जनशक्ति तयार हुने र मावि तहको स्थायी शिक्षकको रुपमा विद्यार्थीले अवसर पाउने क्याम्पसको अपेक्षा रहेको क्याम्पस प्रमुख उपाध्याय बताउनुहुन्छ ।
स्नातक तहमा अहिले ४० जनाको मात्रै कोटा रहेको बीआईसीटीई कार्यक्रम निर्देशक मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक ईन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । कक्षा १२ मा उत्तीर्ण सबै संकायका विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुन पाउने सापकोटाको भनाइ छ । मकवानपुर बहुमुखी क्याम्पसले केही दिनमै तयारी कक्षा सञ्चालन गर्ने पनि उहाँले बताउनुभयो । ‘प्राविधिक शिक्षा भएकोले त्रिविले हामीलाई निश्चित कोटा दिएको छ । सीमित सिट भएकोले धेरै विद्यार्थीको आकर्षण रहन सक्छ’, कार्यक्रम निर्देशक सापकोटाले भन्नुभयो, ‘हामी छिट्टै तयारी कक्षा सञ्चालन गरेर विद्यार्थीलाई प्रवेश परीक्षामा सफल हुन सहयोग गर्नेछौं ।’
स्नातक तहमा सूचना प्रविधिसम्बन्धी अन्य संकायको पाठ्यक्रमसरह नै रहेको र स्नातक उत्तीर्ण भएपछि शिक्षणसँगै अन्य क्षेत्रमा पनि रोजगारीको अवसर रहने भएकोले बीआईसीटीईप्रति विद्यार्थीको आकर्षण बढी हुने दावी निर्देशक सापकोटाको छ । दुईचरण लक्षित विद्यार्थीसँग अन्तरक्रिया समेत गरिसकेको जानकारी दिनुहुँदै तयारी कक्षामा उल्लेख्य विद्यार्थी सहभागी हुने उहाँले बताउनुभयो । सेमेस्टर प्रणालीमा सञ्चालन हुने शैक्षिक कार्यक्रम क्याम्पसमा दिउँसो सञ्चालन हुनेछ । यसअघि मकवानपुर बहुमुखी क्याम्पसमा बाणिज्य संकायअन्तर्गत बीबीए र बीबीएम कार्यक्रम सञ्चालनमा रहेकोले बीआईसीटीईको कक्षा सञ्चालनका लागि जनशक्तिको अभाव नहुने र बजारको मागअनुसार दक्ष जनशक्ति तयार गर्ने कार्यक्रम निर्देशक सापकोटाले बताउनुभएको छ ।











