हेटौंडाः हेटौंडालाई सुन्दर र सफा बनाउनका लागि ‘सफा हेटौंडा अभियान’ घोषणा गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले ‘सफा हेटौंडा अभियान’ घोषणा गर्नुभएको नगर प्रमुख लामाको सचिवालयले जनाएको छ । विभिन्न समयमा हरित हेटौंडाको नामले चर्चामा रहिरहेको शहरलाई थप सौन्दर्यता अभिवृद्धि गर्न अभियानको घोषणा गरिएको बताइएको छ ।
उपमहानगरमा भएको सर्वपक्षीय छलफलबाट नगर प्रमुख लामाले अभियानलाई सफल बनाउन हेटौंडावासीलाई आग्रह समेत गर्नुभएको सचिवालयले उल्लेख गरेको छ । अभियानमा हेटौंडाबासीलाई सहभागी हुन आव्हान गरिएको छ । विभिन्न शहरहरुमा चलिरहेको सफाई अभियानलाई हेटौंडामा पनि कार्यान्वयनमा ल्याउनका लागि उपमहानगरले ध्यानाकर्षण गरेको छ । नगरको सौन्दर्यता बढाउनका लागि हरेक शनिबार नगरका विभिन्न वडाहरुमा अभियानलाई लैजाने नगर प्रमुखको सचिवालयले जनाएको छ ।
अभियानअन्तर्गत सरसफाई, पार्क निर्माण, वृक्षरोपणलगायका कामहरु गरिने बताइएको छ । अभियानलाई लामो समयसम्म अघि बढाउने योजनासहित टोल विकास समन्वय समितिसँगको सहकार्यमा गरिने बताइएको छ । अभियानअनुसार हेटौंडा उपमहानगरपालिका ४ मा रहेको हुप्रचौरबाट सफाई अभियानको सुरुवात हुँदै नगरका सबै वडाहरुमा अध्यक्षको नेतृत्व र टोल विकास संस्थाको सक्रियतामा सफाई अभियानमा हप्ताको २ घण्टा श्रमदान जुटाउने निर्णय भएको छ ।











