हेटौंडाः हेटौंडामा २०७८ साउनदेखि २०७९ जेठ महिनासम्म ८ महिनामा २ सय ५ जना किशोरी आमा बनेका छन् । हेटौंडा अस्पतालमा पछिल्लो ८ महिनामा २० वर्षभन्दा कम उमेरका २ सय ५ जना किशोरी आमा बनेको अस्पतालको तथ्याङ्कले देखाउँछ ।
हेटौंडा अस्पतालमा ८ महिनामा ३ हजार ६१ जना गर्भवतीले सुत्केरी गराएको अस्पतालका कर्मचारी राजीव झाले बताउनुभयो । अस्पतालमा सुत्केरी हुनेमा २ हजार ३ सय ६० जना सामान्य, ५ सय ७८ शल्यक्रिया, १ सय २३ जटिल अवस्थाका गर्भवतिले सुत्केरी गराएको झाले जानकारी दिनुभयो । ८ महिनामा १ हजार ५ सय ९० जना छोरा र १ हजार ४ सय ७१ जना छोरीको जन्म भएको उहाँले बताउनुभयो ।
यस्तै, कम उमेरमा सुत्केरी भएको कारण २८ जना शिशुको भने मृत्यु भएको अस्पतालले जनाएको छ । हेटौंडा अस्पतालका स्टाफ नर्स नितु लामाको अनुसार कम तौल भएको कारण शिशुहरुको मृत्यु भएको हो । कम उमेरमा गर्भ रहेका कारण सुत्केरी हुनको लागि किशोरीहरु शारीरिक र मानसिक रुपमा तयार नहुँदा पनि शिशुको मृत्यु भएको उहाँको भनाई छ । किशोरीहरु परिपक्व नभई गर्भ बसेपछि उनीहरु जिम्मेवार नहुँदा पनि शिशुको मृत्यु भएको उहाँले बताउनुभयो । यस्तै, ३ सय ४४ जनाले महिलाहरुले गर्भपतन गराएको राजीव झाले जानकारी दिनुभयो ।
