हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले बन्द गरेको साइबाबा क्रसर उद्योग पुनःसञ्चालनमा आएको छ । साइबाबा क्रसर उद्योगले गाउँपालिकालाई तिर्नुपर्ने राजश्व र जरिवाना बापतको ६४ लाख ६२ हजार १ सय ४१ रुपैँया तिरेर असार २७ गतेबाट उद्योग पुनः सञ्चालनमा आएको गाउँपालिका योजना शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।
गाउँपालिकाले नदिजन्य पदार्थको राजश्व दाखिला नगर्ने ५ वटा क्रसर उद्योगमा असार २५ गते तालाबन्दी गरिदिएको थियो । अरु ४ वटा क्रसर उद्योगले गाउँपालिकालाई अझै पनि भुक्तानी तिर्न बाँकी रहेको न्यौपानेले जानकारी दिनुभयो । क्रसर उद्योगीहरु भन्छन् “गाउँपालिकाले उपभोक्ता समितिलाई भुक्तानी नदिएकाले उद्योगको रकम असुल नहुँदा गाउँपालिकालाई रकम भुक्तानी गर्न सकिएको छैन ।”
यस्तै मकवानपुरगढी गाउँपालिका–५ स्थित आधुनिक क्रसर उद्योगले राजश्व र जरिवाना बापत ३१ लाख ५३ हजार २ सय ८२ रुपैयाँ, आमभञ्ज्याङ एग्रिगेटले २८ लाख १० हजार २७ रुपैयाँ राजश्व भुक्तानी गर्न बाँकी रहेको छ । मकवानपुरगढी–२ स्थित नमुना बालुवा उद्योगले राजश्व र जरिवाना बापत ३० लाख ७१ हजार ३ सय ६६ रुपैयाँ र मकवानपुरगढी–६ स्थित सामरी खोला बालुवा उद्योगले ५४ लाख ८६ हजार ८ सय ८६ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
