अन्तरक्रियामा सहभागीहरु ।

हेटौंडाः नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७९/८० को बजेटमा समावेश गर्न सकिने कार्यक्रमका विषयमा मकवानपुरका होटल व्यवसायीसँग अन्तरक्रिया गरेको छ । सोमबार हेटौंडामा नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्य कृष्ण साह, बोर्डका कार्यक्रम प्रबन्धक सूर्य थपलियाको उपस्थितिमा अन्तरक्रिया भएको हो ।

चालु आर्थिक वर्षका लागि बोर्डले योजना बनाइरहेको उल्लेख गर्नुहुँदै कार्यक्रम प्रबन्धक थपलियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने गरी बोर्डले गर्न सक्ने सहयोगको क्षेत्रका बारेमा जानकारी गराउन आग्रह गर्नुभएको थियो । अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा, वडा अध्यक्ष विष्णुगोपाल महर्जन, होटल एसोसिएसन मकवानपुरका संस्थापक अध्यक्ष भगीरथ शर्मा, अध्यक्ष दिलिश गोविन्द जोशीको पनि उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा सहभागीले मकवानपुरका पर्यटन व्यवसायी, कर्मचारी, जनशक्तिको क्षमता विकास तथा पर्यटन व्यवसायकै विषयमा अभिमुखीकरण गराउनुपर्ने आवश्यकता औँल्याएका थिए । मकवानपुरको भुभाग समेत समेटिएको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज भ्रमणमा जाने पर्यटकलाई हेटौंडामै बास बसाउन सकिने, जिल्लाको उत्तरी क्षेत्रको शितल भुभागमा बसोबास गर्ने गरी पर्यटकीयस्थलको अवलोकन भ्रमणको कार्य गर्नुपर्ने सुझाव सहभागीको थियो ।