हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठक भोलि आइतबार दिउँसो बस्दैछ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन सरकारले आव्हान गरेको लकडाउन लम्बिँदै जाँदा नगरका विपन्न परिवार बढी प्रभावित भइरहेको र विपन्न परिवार लक्षित राहत वितरणलाई प्रभावकारी बनाउन कार्यपालिकाको बैठक बस्न लागेको बताइएको छ ।
भोलि आईतबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत बताउनुभयो । लक डाउनको समयमा विपन्न परिवार लक्षित राहत वितरण कार्य कसरी प्रभावकारी बनाउने र कोरोना भाइरसको संक्रमण हुन नदिन के गर्ने भन्ने विषयमा कार्यपालिकाका सबै सदस्यको सुझावअनुसार काम गर्नका लागि बैठक डाकिएको मेयर महतले बताउनुभयो ।
भोलिको कार्यपालिका बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमबाट बच्न सरकारले आव्हान गरेको लक डाउनको समयमा प्रभावित विपन्न परिवारलाई राहत वितरणसम्बन्धी कार्यविधि पारित गरिने उपमेयर मीनाकुमारी लामाले बताउनुभएको छ । विपद्का बेला राहत वितरण गर्ने कार्यविधि भए पनि कोरोना भाइरस सम्बन्धी विपद् फरक किसिमको भएकोले नयाँ कार्यविधि बनाउन आवश्यक देखिएकोले कार्यविधि तयार पारिएको र भोलिको कार्यपालिका बैठकले पारित गरेर सोहीअनुसार राहत वितरण गरिने उपमेयर लामाले बताउनुभयो ।