हेटौंडाः हेटौंडा ४ स्थित श्रमिक माध्यामिक विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशबाट प्राप्त भएको ल्यापटप शुक्रबार विद्यालयका १२ जना शिक्षकलाई वितरण गरिएको हो ।
पहिलो चरणमा १२ जना शिक्षकलाई एक शिक्षक एक ल्यापटप अभियानका साथ निर्देशनालयबाट प्राप्त १५ लाख रुपैयाँ बराबरको ल्यापटप वितरण गरिएको छ । त्यस्तै सोही कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी प्रकाश बलले विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण गर्नुभएको छ । बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पूर्णबहादुर दर्जीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितीकी कार्यवाहक अध्यक्ष रिता दाहालको सभाध्यक्षमा कार्यक्रम भएको हो । विद्यार्थीलाई पढाउने क्रममा सूचना प्रविधिको प्रयोगले सिकाईमा प्रभावकारिता बढाउन ल्यापटपको वितरण गरिएको निर्देशनालयका निमित्त निर्देशक दर्जीले बताउनुभयो । विद्यार्थीको पठनपाठनमा प्रविधी मैत्री बनाउन ल्यापटप वितरण गरिएको उहाँको भनाई छ ।
ल्यापटप प्राप्त गरेका शिक्षकले विद्यार्थीको शिक्षण सिकाईका लागि ल्यापटपको प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । विद्यालयमा भएका समस्याको समाधान विद्यालयका शिक्षक र कर्मचारीले आपसी सहयोगमा गर्नुपर्ने उहाँको भनाई छ । आगामी दिनमा निर्देशनालयले विद्यालयलाई आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै, विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले निर्देशनालयलाई धन्यवाद व्यक्त गर्दै ल्यापटपको सही सदुपयोग हुने बताउनुभएको छ । ल्यापटपबाट विद्यार्थीको शिक्षण सिकाईमा सहयोग हुने उहाँले बताउनुभयो । विद्यालयमा विज्ञान प्रयोगशाला, बसको व्यवस्था, प्राथमिक उपचारको समस्या भएको जानकारी गराउँदै उहाँले आगामी दिनमा पनि निर्देशनालयको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका अधिकृत घनश्याम खनाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देल, विद्यालय व्यवस्थापन समितीका सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।