राक्सीराङ गाउँपालिकाको बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बनस्तम थिङ ।

हेटौंडाः राक्सिराङ गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम तथा राजश्व र व्ययको अनुमानित बजेट आज मंगलबार सार्वजनिक गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले गाउँसभाको १२ औं अधिवेशनमा ६२ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

उहाँका अनुसार शिक्षा, स्वास्थ्य, पोषण, खाद्य सुरक्षा तथा सम्प्रभुता, खानेपानी, सरसफाई वातावरण संरक्षण, भौतिक र आर्थिक पूर्वाधारको विकासमार्फत् जीविकोपार्जन सुधार बजेटको प्राथमिकतामा रहेको छ । यस्तै, कृषि, पशुपालन, मौरीपालन क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यावसायीकरण, सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको साझेदारीबाट पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन, रोजगारमूलक समावेशी आर्थिक विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्ष २०७९/८० मा केन्द्रीय अनुदानतर्फ गाउँपालिकालाई वित्तीय समानीकरणमा १० करोड ७७ लाख रुपैयाँ प्राप्त भएको छ । यस्तै, सशर्त अनुदानमा १९ करोड ४२ लाख रुपैयाँ, विशेष अनुदानमा १ करोड ५० लाख रुपैयाँ, समपूरक अनुदानमा १ करोड २० लाख रुपैयाँ र राजश्व बाँडफाँडमा १० करोड ६६ लाख रुपैयाँ गरी संघीय सरकारबाट जम्मा ४३ करोड ५५ लाख १७ हजार रुपैयाँ प्राप्त हुने बताइएको छ । यस्तै, गाउँपालिकालाई प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ९६ लाख ८ं९ हजार रुपैयाँ, सवारी करको बाँडफाँड १ करोड रुपैयाँ, सशर्त अनुदानमा ३ करोड १० लाख रुपैयाँ, विशेष अनुदानमा १ करोड ५० लाख रुपैयाँ, समपूरक अनुदान ३ करोड रुपैयाँ गरी प्रदेश सरकारबाट जम्मा ९ करोड ५७ लाख ५८ हजार रुपैयाँ प्राप्त हुने भएको छ । आन्तरिक आम्दानीमा ९ करोड २१ लाख ४० हजार गरी गाउँपालिकाको कुल बजेट ६२ करोड ३४ लाख १५ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०७९/८० मा चालु खर्चतर्फ ३५ करोड ७५ लाख ७ हजार रुपैयाँ (कूल व्ययको ५७.३५ प्रतिशत) र पुँजीगत खर्चतर्फ २६ करोड ५९ लाख ७ हजार रुपैयाँ (कूल व्ययको ४२.६५ प्रतिशत) विनियोजन गरेको छ । विषयगत क्षेत्रतर्फ गाउँपालिकाले आर्थिक विकासमा एक करोड ९७ लाख रुपैयाँ, सामाजिक विकासमा ५ करोड ५५ लाख रुपैयाँ, पूर्वाधार विकासमा १० करोड ५६ लाख रुपैयाँ, वन, वातावरण तथा विपद व्यवस्थापनमा ७३ लाख ४० हजार रुपैयाँ र सुशासन तथा संस्थागत विकासमा १ करोड १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको उल्लेख गरेको छ । राक्सिराङ गाउँपालिकासँगै मकवानपुरका १० वटै स्थानीय तहले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेका छन् ।