हेटौंडाः नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नयाँ संक्रमित मध्ये दुईजना भारतबाट आएका छन् भने एकजना यसअघि संक्रमित पुष्टि भएका व्यक्तिको आफन्त भएको मन्त्रालयले आज जनाएको छ ।
भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले उल्लेख गरेको छ । कैलालीकी ३४ वर्षीया महिला भने यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको मन्त्रालयले स्पष्ट पारेको छ । योसँगै पहिलो पटक नेपाल भित्रै रहेको व्यक्तिमा पनि कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । यसअघि कोरोना संक्रमितहरु विदेशबाट आएका मात्रै थिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये एकजनालाई निको भइसकेको छ ।