हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको विभिन्न समितिमा दलीय आधारमा भागबण्डा गर्ने सहमति भएको छ । गठबन्धन दल र एमालेबीच समिति गठन गर्ने विषयमा विवाद भई आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम र बजेट नै प्रस्तुत नहुने स्थितिपछि सहमतिको प्रयास भएको थियो । सहमतिअनुसार उपमहानगरपालिकाका ५ वटा समिति मध्ये ४ वटा समिति नेकपा एमालेलाई दिने भएको छ भने एउटा समिति गठबन्धनले पाउने भएको छ ।
गठबन्धनले सामाजिक विकास समिति पाउने भएको छ भने आर्थिक विकास समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, संस्थागत तथा सुशासन समिति र विधायन समिति नेकपा एमालेले पाउने सहमति भएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभएको छ । विषयगत समितिहरु गठन गर्ने विषयमा सहमति भएको र समितिमा को को रहने भन्ने विषय पार्टीले नै निर्धारण गर्ने नेकपा एमालेबाट उम्मेदवार भई विजयी वडा अध्यक्ष सुनिल मोक्तानले जानकारी दिनुभयो ।
यस्तै सोमबार बिहान बसेको कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९/८० नीति, कार्यक्रम र बजेट नगर परिषदबाट संशोधनसहित पारित गर्ने निर्णय पनि गरेको छ । यसअघि मेयर र उपमेयरले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तयार पार्दा विषयगत समितिहरुबाट योजना तर्जुमा नगरी सिधै बजेट तयार पारेको भन्दै कार्यपालिका बैठक र नगर परिषद् बैठक नै बहिष्कार गर्दै आएको थियो ।











