हेटौंडाः बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने कि नगर्ने भन्ने विषय केन्द्रकै नेतामा निर्भर रहेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले बताउनुभएको छ । देशका ६ वटा प्रदेश सरकारमा नेतृत्व गर्ने भागबण्डा गठबन्धन दलबीच केन्द्रमै सहमति भएको उल्लेख गर्नुहुँदै बागमती प्रदेश सभामा नेकपा एकीकृत समाजवादी पार्टीको उपनेता समेत रहनुभएका मन्त्री खनालले सरकारको नेतृत्व परिवर्तनको विषय पनि केन्द्रका नेताहरुबीच हुने सहमतिमै निर्भर रहने स्पष्ट पार्नुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टीको बागमती प्रदेश सभा संसदीय दलको शनिबार काठमाडौंमा सम्पन्न वैठकमा प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयमा कुनै किसिमको छलफल समेत नभएको जानकारी गराउनुहुँदै मन्त्री खनालले भन्नुभयो, “प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति केही दिनभित्रै तोकिने तयारी भइरहेको बेला सरकार परिवर्तनको औचित्य समेत छैन । अहिले प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने कुरा गर्दा बागमती प्रदेश सरकारको नेतृत्व मात्रै परिवर्तन गर्ने अवस्था रहन्न ।” देशका ६ वटा प्रदेश सरकारमा कांग्रेस, माओवादी र समाजवादीले २/२ वटा प्रदेश सरकारको नेतृत्व गरिरहेकोले नेतृत्व परिवर्तन कुनै एउटा मात्रै प्रदेशमा सम्भव नहुने उहाँको तर्क छ ।
बागमती प्रदेश सरकारमा कांग्रेस र समाजवादीबीच नेतृत्व परिवर्तन गर्ने सहमति भए पनि अहिले परिस्थिति परिवर्तन भएकोले त्यसको कुनै अर्थ नभएको पनि मन्त्री खनालले दावी गर्नुभयो । कांग्रेस र माओवादीबाट निर्वाचित प्रदेश सभा सदस्यले हस्ताक्षर संकलन गरेको प्रसंगमा मन्त्री खनालले भन्नुभयो, “नेकपा एकीकृत समाजवादीको सहयोग बिना सरकार गठन हुन सक्दैन । राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारविरुद्ध हस्ताक्षर संकलनको कुनै अर्थ छैन ।”
बागमती प्रदेशसभामा कुल १ सय ७ जना सांसद छन् । सरकार निर्माण गर्न कम्तिमा ५४ जना सांसद हुनुपर्दछ । प्रदेशसभामा माओवादी २३, नेपाली कांग्रेस २२, एकीकृत समाजवादी १३ र जसपाको एकसहित ५९ सांसद छन् । प्रमुख प्रतिपक्षी एमालेसँग ४१, विवेकशील दलसँग ३, राप्रपा र नेमकिपाका २/२ सांसद छन् ।