हेटौंडाः मकवानपुर प्रहरीले विभिन्न मुद्दामा आरोपित व्यक्तीलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्दामा फरार प्रतिवादी ३ जना र स्रोत नखुलेको नगदसहित एकजना महिलालाई पक्राउ गरेको छ ।

बुधबार बिहान २ बजेको समयमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका–१ बस्ने ५३ वर्षीय सानुकान्छा योन्जन र खैराङका कल्पना घलानलाई पक्राउ गरेको छ ।

घलानको घरको कोठामा राखेको मधेश प्रदेश ०३–०२३ प ३१७२ नम्बरको मोटरसाईकलको सिटमुनी लुकाई छिपाई ल्याएको १ लाख ९८ हजार ९ सय भारतीय रुपैयाँ र नेपाली रुपैयाँ ७ लाख १७ हजार गरी जम्मा १० लाख ३५ हजार २ सय ४० रुपैयाँ नगद फेला पारी बरामद गरेको छ । सानुकान्छा योन्जन गत फागुन २३ गतेदेखि लागुऔषध अफिम १३ किलो १२० ग्राम र चरेश २६ ग्राम मुद्दाका फरार प्रतिबादी समेत भएको प्रहरीले जनाएको छ । स्रोत नखुलेको नगद रकम, सानुकान्छा योन्जन र घर धनि घलानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

लेनदेन मुद्दामा फरार प्रतिबादी तुलशा बिष्ट

यस्तै मकवानपुर जिल्ला अदालतको गत जेठ ३१ गतेको चलानी नं. ८३७८ पत्र आदेशले लेनदेन मुद्दामा फरार प्रतिबादी तुलशा बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर गढी–७ का हेटौंडा–१९ बस्ने ३३ वर्षीय बिष्टलाई बुधबार ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा बुझाईएको छ ।

चेक अनादर मुद्दाका फरार प्रतिबादी सुक बहादुर सुनार

यस्तै मकवानपुर जिल्ला अदालतको चलानी नं. ६०९८ गत फागुन ७ गतेको पत्र आदेशले चेक अनादर मुद्दाका फरार प्रतिबादी हेटौडा उप–महानगरपालिका–१९ बस्ने ३६ वर्षीय सुक बहादुर सुनारलाई ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित अदालतमा बुझाएको छ ।