प्रशासकीय भवनको शिलान्यास गर्नुहुँदै गाउँपालिका अध्यक्ष राजकुमार मल्ल ।

हेटौंडाः मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु गरिएको छ । बिहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ–५, चैनपुरमा प्रशासकीय भवन निर्माण कार्यको सुरुवातस्वरुप शिलान्यास गर्नुभएको हो ।

गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ८ करोड ९९ लाख ३१ हजार रुपैयाँ कुल लागत अनुमान गरिएको थियो । गाउँपालिकाले ठेक्का आव्हान गर्दा जय माता कन्स्ट्रक्सन प्रालिले ६ करोड ४२ लाख १२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको हो । गत कात्तिक महिनामै ठेक्का सम्झौता भएको र सम्झौता भएको ३० महिनाभित्र भवन निर्माण कार्य पूरा गर्नुपर्नेछ । शिलान्यास कार्यमा गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौला, वडाअध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।