बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी हेटौंडामा भएको छ । निकै प्रचारप्रसार गरिएको प्रदर्शनीले महिलाहरुको उद्यमशीलतामा प्रबर्द्धन गर्ने अपेक्षा सबैको थियो । प्रदेशभित्रका उद्यमी महिलाहरुले सम्मेलनबाट ठूलै उपलब्धि प्राप्त गरेको हुनुपर्ने हो । तर दुई दिनसम्म सञ्चालन भएको यो प्रदर्शनी आम चासोको विषय बन्न सकेन । जुन तरिकाबाट प्रचार गरिएको थियो, त्यसअनुसारको उपलब्धि हुन सकेको देखिएन । महिला उद्यमीलाई प्रोत्साहन गर्न र उत्पादनलाई बजार उपलब्ध गराउन कार्यक्रमको आयोजना गरिएको हो । तर कति प्रोत्साहन भयो र उत्पादनले बजारको सम्भावना कस्तो देखियो भन्ने प्रश्न छ । उद्देश्य अनुसारको कार्यक्रम सफल भयो वा भएन भन्ने प्रश्न पनि जन्मिएको छ ।
बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई अझै फलदायी बनाउन सकिने प्रशस्त ठाउँ थिए । तर सरकारी कार्यक्रम औपचारिकतामा मात्र सीमित भएको छ । मन्त्रीदेखि मन्त्रालयका उच्च पदाधिकारीले आफूहरुको समयमा गरेको कामको प्रतिवेदन तयार हुनेबाहेक यो कार्यक्रमले महिलाहरुलाई उत्पादनसँग जोड्ने वा उद्यमी बन्न प्रोत्साहन गर्ने विषयले महत्व पाएन । प्रदेश सरकार आफैं आयोजक बनेको, मन्त्रीकै अध्यक्षतामा भएको कार्यक्रममा जनसाधारणको सहभागिता हुन सकेन । १३ जिल्लाबाट आएका महिला उद्यमी र उनीहरुको उत्पादनले पाउनुपर्ने प्रचारप्रसार देखिएन । कार्यक्रम गर्ने स्थान र भएको औपचारिकताले पनि मेला आम नागरिकका लागि हैन कि भन्ने देखियो ।
प्रदेशका १३ जिल्लाका महिला उद्यमीको सहभागिता र उनीहरुले उत्पादन गरेका वस्तुको ५० वटा स्टल थिए । तर ती उत्पादन र स्टलको आम नागरिकले अवलोकन गर्ने वा राखिएका उत्पादनको बिक्री भएको देखिएन । सरकारी कार्यक्रममा आम नागरिक किन यति धेरै उदासिन भए ? प्रचार नभएको हैन, तर आम नागरिकको सहभागिताभन्दा पनि कार्यक्रमस्थल उच्च पदस्थका लागि मात्र हो कि भन्ने देखियो । मेला महोत्सव कुनै होटल वा पार्टी प्यालेसमा गर्दा आम नागरिकमा आफूहरुका लागि हैन भन्ने बुझाई पाइयो । यस घटनाले मेला र प्रदर्शनी कुनै एकान्त वा भीआईपी स्थानमा भन्दा सर्वसाधारणको सहजै पहुँच पुग्ने स्थानमा हुनुपर्ने महशुस आयोजकले गरेको हुनु पर्दछ । बर्खा मौसमका कारण पार्टी प्यालेसमा कार्यक्रम गर्नु आयोजकको बाध्यता पनि होला ।
प्रदर्शनीमा महिला उद्यमीका उत्पादन राखिएका थिए । महिलालाई उद्यमसँग जोड्न कार्यक्रम निकै प्रभावकारी हुनुपर्ने हो । प्रदेशभित्र रहेका महिला उद्यमीहरुबीच परिचय हुनेदेखि भएको कला र सीप प्रदर्शनी र साटफेर गर्ने सुनौलो अवसर पनि यो मेला बन्न सक्नुपर्ने थियो । तर व्यवस्थापन अत्यन्त फितलो हुँदा उद्देश्य पूरा हुन सकेन कि भन्ने प्रश्न छ । सम्मेलनमा महिलाहरुले उद्यमशीलतामा भएका समस्या र त्यसमा प्रदेश सरकारबाट हुनसक्ने सहजीकरणबारे पनि छलफल हुनुपर्ने थियो । कार्यक्रम निकै प्रभावकारी हुनुपर्ने थियो । तर औपचारिकतामा सीमित भएको गुनासोलाई आगामी कार्यक्रममा सम्बोधन गरिनु पर्दछ । कार्यक्रम राम्रो हुँदाहुँदै पनि औपचारिकतामा सीमित भएको देखिन्छ ।











