मुख्यमन्त्री शालिकराम जमकट्टेल

हेटौंडाः बागमती प्रदेश सरकारको बजेट विनियोजनको क्रममा कुनै पनि राजनीतिक पूर्वाग्रह नभएको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले दाबी गर्नुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विनियोजन विधेयक माथि केन्द्रित भएर उठान गरेको विषयमाथि प्रदेश सरकारको तर्फबाट जवाफ दिँदै अर्थमन्त्री जमकट्टेलले प्रतिपक्षसँग राजनीतिक रुपमा गरिएको सहमति पूर्ण रुपमा पालना गरेर अगाडी बढ्ने प्रतिबद्धता गर्नुभएको छ ।

बहुवर्षीय योजनाको हकमा पूर्ण रुपमा बजेट छुट्याएको भन्दै उहाँले थोरै पनि कन्जुयाई नगरेको स्पष्ट पार्नुभयो । एउटा पनि योजना नछुटेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा ७ अर्ब बहुवर्षीय योजनामा थियो जसमा ४ अर्ब मात्र खर्च भएको थियो । आगामी आर्थिक वर्षमा बहु वर्षीय योजनाको लागि ५ अर्ब रुपैयाँ छुट्याएको उहाँले बताउनुभयो । भौगोलिक क्षेत्रगत र दलगत समावेशी नभएको विषय स्वीकार गर्दै त्यस्ता विषयहरु समावेश गरेर अगाडी बढ्ने उहाँले आश्वासन दिनुभयो । सिमेन्ट उद्योगको करको विषयमा बोल्दै मन्त्री जमकट्टेलले कर पारदर्शी रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा २ करोड ६६ लाख रुपैयाँ मात्र कर उठेको थियो । त्यसमा पनि स्थानीय सरकार र प्रदेश सरकारलाई ६०/४० को अवधारणा हुन्छ । कर लागु गरेपछि व्यवसायीहरु मुद्दामा गएका थिए । संघीय सरकारमा पनि प्रतिवेदन गएको थियो । अन्य प्रदेशमा पनि त्यो कर लागु नभएकोले पनि हटाईएको हो ।”

प्रदेश सरकार प्रमुख प्रतिपक्षसँग मिलेर अगाडी बढ्ने भन्दै उहाँले कुनै पनि बदनियत नभएको स्पष्ट पार्नुभयो । आइतबार प्रमुख प्रतिपक्ष दलले प्रदेश सरकारको बजेट एकपक्षीय भयो, भौगोलिक क्षेत्रगत र दलगत समावेशी भएन, प्रतिपक्ष दलसँग गठबन्धन सरकारले बजेट बनाउने प्रक्रियामा गरेको सहमति उल्लंघन भएको, बहुबर्षिय योजनाहरुमा बजेट नपरेको, प्राकृतिक स्रोत उपयोग कर खारेजीको विषयमा बिरोध गरी प्रदेश सभा अबरुद्ध गरेको थियो ।